१० असार २०८३, बुधबार

मधेश प्रदेशमा खोप लगाउने बढेसँगै कोरोना ग्राफ घट्दै

मधेश प्रदेशमा खोप लगाउने बढेसँगै कोरोना ग्राफ घट्दै

कोरोना भाइरस विरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । 

माघको दोस्रो हप्तासम्म दैनिक २०० जनाको हाराहारीमा संक्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो संख्या ५० हाराहारीमा झरेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो समय मधेशमा संक्रमितको संख्याभन्दा निको भई घर फर्किनेको संख्या बढ्दै गएको छ ।  निर्देशनालयका अनुसार पछिल्ला २ दिनका अवधिमा प्रदेशभरि ९७ नयाँ संक्रमित थपिँदा १३२ निको भएर घर फर्किएका छन् ।

बुधवार प्रदेशका विभिन्न जिल्लामा ४३ नयाँ संक्रमित थपिँदा ४४ र मंगलवार ५४ जनामा संक्रमण पुष्टि हुँदा ८८ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए । उनका अनुसार बुधवार धनुषा र सर्लाहीमा १५–१५, महोत्तरी र सप्तरीमा ४–४, रौतहट र बारामा २–२ नयाँ संक्रमित थपिएका छन् भने मंगलवार धनुषामा १६, सिरहामा १४, महोत्तरी र पर्सामा ६–६, सप्तरीमा ५, बारा र रौतहटमा २–२ तथा सर्लाहीमा १ नयाँ संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै होम आइसोलेसनमा रहेका जनाइएको छ ।

महामारी शुरू भएपछि हालसम्म प्रदेशमा संक्रमणबाट हालसम्म ४१ हजार १२२ संक्रमित हुँदा उपचारपश्चात ३८ हजार २६३ ‘डिस्चार्ज’ भएका छन् भने १ हजार ५५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकले देखाएको छ ।

निर्देशनालयका अनुसार संक्रमणका कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको छ ।

शुरूमा संक्रमण तीव्रगतिमा फैलिए पनि खोप लगाउने दर बढेसँगै संक्रमणदर घट्दै गएको चिकित्सकहरूले बताएका छन् । वर्तमान सरकारले सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड लागू गरेपछि करीब ३ हप्ताको अवधिमा प्रदेशका जिल्लामा कोरोना विरुद्धको खोप लगाउने दर करीब १७ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । – राजु विश्वकर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्