
बुटवल १७ असार - गुल्मीको रेसुङ्गा नगरपालिका नेपाली कांग्रेसको बलियो गढ मानिन्थ्यो । गुल्मी सदरमुकाम तम्घासलाई कांग्रेसहरुले देशकै बलियो मध्येको एउटा गढको रुपमा लिने गर्दथे । तर यसपटकको स्थानीय तह निर्वाचनमा कांग्रेसको पुरानो गढ ढलेको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति भुवन श्रेष्ठलाई पराजीत गर्दै नेकपा एमालेका डिल्लीराज भुसाल रेसुङ्गाको मेयर विजयी भए । भुसालले श्रेष्ठलाई झिनो मतले पराजीत गरे । व्यापारिक पृष्ठभूमिका भुसाल यसअघि गाविस अध्यक्षमा उठेपनि पराजीत भएका थिए ।
रेसुङ्गामा पराजीत भएपछि कांग्रेसका कतिपय नेताहरुले कांग्रेस भित्रकै अर्को पक्षले असहयोग र अन्तरघात गरेको आरोप लगाएको छ भने अर्को पक्षले अन्तरघात भएको स्वीकार गर्दैन् ।
मेयरका लागि टिकट बाढ्दा देखि नै दुइ पक्षबीच विबाद रहेको थियो । तम्घासमा भुसाल र नेवार परिवारको पुरानो दुश्मनीको कारणले पनि यसपालीको निर्वाचनमा कांग्रेस उम्मेदवार भुवन श्रेष्ठलाई असजिलो भएको हुन सक्ने विश्लेषण गरिएको छ ।
रेसुंगा नगरपालिकामा एमाले उम्मेदवार भुसालले ६३ सय ८१ मत ल्याएर विजयी भएका छन् । उप मेयरमा एमालेकै सीता भण्डारी ६२ सय १३ मत ल्याएर विजयी भएकी छन् । नेपाली कांग्रेसको तर्फबाट मेयका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले ६२ सय ४ मत ल्याए । उप मेयरमा कांग्रेसकी अमृता कुँवरले ६१ सय ७९ मत ल्याइन् ।
कसरी ढल्यो गढ ?मतगणना शुरु नहुन्जेल कांग्रेसका नेताहरु आफूले चुनाव जित्नेमा ढुक्क जस्तै देखिन्थे । तर मतगणना शुरु भएपछि कांग्रेसको गढ ढल्ने कम्पन सुरु भए ।
यही क्षेत्रवाट गत संविधानसभा निर्वाचनमा कांग्रेसका चन्द्र भण्डारी विजयी भएका थिए । २०६४ को संविधानसभा चुनाव र २०५६ सालको प्रतिनिधिसभा चुनावमा एमालेका प्रदीप ज्ञवालीले यस क्षेत्रवाट चुनाव जितेका थिए ।
गुल्मी २ बाट २०४८ सालको संसदीय चुनावमा भागवत ज्ञवालीले चुनाव जितेका थिए । २०५१ सालमा भने कमल श्रेष्ठ विजयी भएका थिए । संसदीय र संविधानसभा चुनावमा जे जस्तो नतिजा आएपनि रेसुङ्गामा कांग्रेसको बलियो प्रभाव मानिन्थ्यो ।
कांग्रेसले चुनाव हार्नुमा प्रदेश नम्बर पाँचवाट तराइ र पहाड अलग गर्ने कांग्रेस माओवादी प्रस्तावको ‘मनोविज्ञान’ मतदातामा परेको समेत विश्लेषण गरिएको छ ।
अखण्ड पाँच नम्बर प्रदेश र अखण्ड लुम्बिनीको नाममा बुटवलमा भएको आन्दोलनको राप तमघाससम्म पुगेको थियो ।
स्थानीय तहको पहिलो चुनावमा एमालेको पक्षमा देखिएको जनलहरको प्रभाव म्घासमा पनि देखियो ।