काठमाडौं, १७ असार –राष्ट्रिय जनमोर्चा चौथो ठूलो शक्तिका रुपमा उदाएको छ । पहिलो चरणको निर्वाचन परिणामसहितलाई जोड्दा हालसम्म जनमोर्चाले ३ स्थानमा जित हात पारेको छ ।
पहिलो चरणको निर्वाचनमा १ स्थानीय तह जितेको जनमोर्चाले दोस्रो चरणको जारी मतपरिणाम अनुसार २ स्थानीय तहमा विजय हासिल गरिसकेको छ ।
पहिलो चरणको निर्वाचनमा जनमोर्चाले बाग्लुङको वरेङ गाउँपालिका जितेको थियो । उक्त गाउँपालिकाबाट जनमोर्चाका गाउँपालिका प्रमुखले ३ हजार ३४ मतसहित चुनाव जितेका थिए ।
दोस्रो चरणको जारी मतगणना परिणाम अनुसार, जनमोर्चाले २ स्थानीय तहमा जित हासिल गरिसकेको छ । जनमोर्चाले प्युठानको झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिका जितेको छ ।
प्यूठानको झिमरुक गाउँपालिकाको प्रमुखमा जनमोर्चाका तिलकबहादुर जिसीले ३ हजार ६ सय ६० मतसहित विजयी भएका छन् ।
त्यस्तै, प्यूठानकै मल्लरानी गाउँपालिकामा पनि जनमोर्चाका अमरध्वज रानामगरले २ हजार ३ सय २८ मतसहित विजयी भए । उक्त गाउँपालिकामा जनमोर्चाले उपप्रमुखसमेत जितेको छ ।
हालसम्मको मतपरिणाम अनुसार, नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन् । त्यस्तै, नेपाल मजदुर किसान पार्टीले पहिलो चरणको निर्वाचनमा एक स्थानमा जितेको छ । संघीय समाजवादी फोरम नेपालले एक स्थान र नयाँ शक्ति नेपालले पनि एक स्थानमा जित हासिल गरेका छन् ।