
भारतको उत्तर प्रदेश विधानसभा चुनावको मिति नजिकिँदैछ । पहिलो चरणको चुनाव १० फेब्रुअरीमा हुँदैछ ।
यसपालि मुख्यमन्त्रीका दाबेदारहरू योगी आदित्यनाथ र अखिलेश यादव विधानसभा चुनावी मैदानमा छन् । यसअघि दुवै लोकसभा र विधान परिषद् चुनाव लड्दै आएका थिए भने पहिलोपटक विधानसभा चुनावी मैदानमा आएका हुन् ।
मुख्यमन्त्री योगी गोरखपुरबाट चुनाव लड्दैछन् भने अखिलेश करहल सीटबाट लड्दैछन् । योगी भारतीय जनता पार्टी (भाजपा) र अखिलेश समाजवादी पार्टी (सपा) बाट चुनाव लड्दैछन् ।
चुनावको मुखैमा दुवै नेताको सम्पत्तिबारे समेत चर्चा शुरू भएको छ । मुख्यमन्त्री बनेपछि योगीले ६१% सम्पत्ति बढाएका छन् । उनले ६० लाख भारतीय रुपैयाँँ बढेको सम्पत्ति रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०१७ को विधान परिषद् चुनाव लड्दा योगीको सम्पत्ति ९८ लाख ९८ हजार भारतीय रुपैयाँ रहेका थिए । अब उनको सम्पत्ति १ करोड ५८ लाख ९८ हजार भारतीय रुपैयाँ पुगेको छ ।
सपा नेता अखिलेश यादव सन् २०१२–२०१७ सम्म मुख्यमन्त्री बनेका थिए । २०१२ मा अखिलेशको सम्पत्ति ८ करोड ८४ लाख भारतीय रुपैयाँ थियो । तर सन् २०१९ मा उनको सम्पत्ति ३७ करोड ७८ लाख रुपैयाँ पुगेको थियो । ७ वर्षमा अखिलेशले ३२७% सम्पत्ति बढाएका थिए ।
आपराधिक मुद्दामामिलाका सन्दर्भमा योगीविरुद्ध एउटा पनि मुद्दा दर्ता छैन भने अखिलेशविरुद्ध ३ मुद्दा दर्ता छन् ।
विभिन्न संस्थाको चुनावी सर्वेक्षणले उत्तर प्रदेशमा भाजपालाई नै अगाडि देखाइरहेका छन् ।