युक्रेनको राजधानी किएभ नजिक एक सैन्य तालिम शिविरमा चार वर्षका बालबालिका समेत अभ्यास गरिरहेका छन् । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै बालबालिकालाई समेत प्रतिरक्षामा खटाइन खोजिएको छ ।
हिउँले ढाकेको जंगलमा रहेको स्वयंसेवी बूट क्याम्पमा बालबालिका र वयस्क सबैथरीले सैन्य दक्षताको आरम्भिक ज्ञान लिएका छन् ।
तारास र बोहदान नामक जुम्ल्याहाले काठको नक्कली बन्दूकसँग खेलेको अनि वयस्क पुरुष महिलाले रुसविरुद्धको युद्ध अभ्यास गरेको देखिएको छ ।
ती बालकहरूकी आमा इर्न्याले भनिन्, ‘उनीहरू युद्ध बुझ्छन् जस्तो लाग्दैन । तर उनीहरू सैन्य कुरा खुबै मन पराउँछन्, त्यसैले अभ्यासमा आएका हुन् । उनीहरू ठूलो भएपछि सैनिक बन्न चाहन्छन् र देशको रक्षा गर्न खोज्छन् भने म उनीहरूलाई रोक्दिनँ ।’
त्यस्तै वयस्कहरू पनि सैन्य तालिममा उत्साहका साथ भाग लिन आइरहेका छन् । उनीहरू किएभको १२७ बटालियन टेरिटोरियल डिफेन्स फोर्समा जोडिने आशा गरिरहेका छन् ।