
मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)लाई लेखेको पत्रलाई लिएर माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिएको छ ।
पत्र सार्वजनिक भएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग असन्तुष्टि जनाइसकेका छन् । एमसीसीलाई लेखेको पत्र रणनीतिक रूपमा सार्वजनिक गरिएकोमा माओवादीको आपत्ति छ ।
माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभाका सदस्य राम कार्कीले सार्वजनिक भएको पत्रबारे पार्टी बोल्नुपर्ने बताए ।
‘अहिले सार्वजनिक भएको पत्रबारे, त्यो भएको हो होइन पार्टीले बोल्नुपर्छ, त्यसमा कति आधिकारिक हो ? के उद्देश्यले लेखिएको हो, त्यो त भन्नुपर्छ,’ लोकान्तर डट्कमलाई छोटो प्रतिक्रिया दिँदै कार्कीले भने, ‘चिट्ठी वास्तविक हो कि होइन बुझ्नुपर्यो । यदि गठबन्धनले पठाएको चिट्ठी हो भने किन दुई जनाले मात्र पठाएको हो ? त्यो बोल्नुपर्छ ।’
देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्र बिहीवार सार्वजनिक भएको थियो ।
‘...प्रतिनिधिसभाका सभामुखलाई संयुक्त रूपमा सकेसम्म छिटो कम्प्याक्ट टेबुल गर्ने योजनाका सम्बन्धमा अनुरोध गर्नेछौं । यी गतिविधिले आगामी चारदेखि पाँच महिनाभित्र संसदमार्फत् कम्प्याक्ट अनुमोदनका लागि सहज अवस्था सिर्जना हुने विश्वास लिएका छौं,’ २९ सेप्टेम्बरमा देउवा र प्रचण्डले एमसीसीको मुख्यालयलाई लेखेको पत्रमा उल्लेख छ ।