
स्पेनिस ला लिगामा सेभियाले शीर्ष टोली रियल म्याड्रिडलाई पछ्याउने क्रम जारी राखेको छ । घरेलु मैदानमा शुक्रवार राति भएको खेलमा सेभियाले इल्चेलाई २–० गोलले हरायो ।
जितसँगै दोस्रो स्थानमा रहेको सेभियाले रियलसँगको दूरी तीन अंकले घटाएको छ ।
सेभियाको जितमा अलेसान्द्रो गोमेज र राफा मिरले गोल गरे । पाहुना टोलीलाई खेलभर दबाबमा राखे पनि सेभियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
७०औं मिनेटमा अलेसान्द्रो गोमेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि ७५औं मिनेटमा अतिरिक्त खेलाडी राफा मिरले गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए ।
६०औं मिनेटमा जेसस कोरोनाको स्थानमा मैदान प्रवेश गरेका राफा मिरले एन्थोनी मार्सियालको पासमा गोल गरेका थिए ।
५७ प्रतिशत बल पोसेसन राखेको सेभियालाई पहिलो हाफमा रोके पनि इल्चे दोस्रो हाफमा निरीह बन्यो । सेभियाका अलेसान्द्रो गोमेज ‘म्यान अफ दिन म्याच’ भए ।
जितसँगै सेभियाले २४ खेलबाट ५० अंक बनाएको छ । शीर्षस्थानमा रहेको रियलको २३ खेलबाट ५३ अंक छ । पराजित इल्चे २६ अंक सहित १४औं स्थानमा छ ।