
नेकपा एमालेका नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट तत्काल पदमुक्त गर्न माग गरेका छन् ।
संगठन विभाग चलाउने सक्ने व्यक्ति नभएको बस्नेतले अधिकारीलाई तत्काल जिम्मेवारीबाट हटाउन पार्टी नेतृत्वसँग माग गरेका हुन् ।
‘छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाईं (खगराज अधिकारी) संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन,’ उनले फेसबुकमा लेखेका छन्, ‘तसर्थ क.खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु ।’
यस्तै उनले युवा संघमाथि अराजकता हाबी हुने र विरोधीहरूको हौसला बढ्ने गरी फैसला किन गरेको भन्दै प्रश्न पनि गरेका छन् ।
‘पार्टीको सचिवालयको बैठकले जनसंगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि सो सँग बाझिने गरी केन्द्रीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाईंलाई कसले दियो ?,’ फेसबुकमार्फत् उनले लेखेका छन्, ‘युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरूलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो रु, संगठनको इन्चार्ज , अध्यक्ष समेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?’