०६ साउन २०८३, बुधबार
ठगीका अनेक रूप

नागरिकताको फोटोकपी दुरुपयोग : कसैको बैंकबाटै लाखौं गायब, काेही प्रहरी हिरासतमा !

फागुन २, २०७८
नागरिकताको फोटोकपी दुरुपयोग : कसैको बैंकबाटै लाखौं गायब, काेही प्रहरी हिरासतमा !

सुनसरीको इटहरी उपमहानगरपालिकाका ४ युवाले युरोपेली मुलुक क्रोएसिया जानका लागि पासपोर्टसहितका डकुमेन्ट आफूले चिनेका दलाललाई बुझाएका थिए ।

श्रेष्ठ थरका ती दलालले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पासपोर्ट, फोटो र शैक्षिक प्रमाणपत्रहरू लिएका थिए ।

ती दलालले सबै डकुमेन्ट फोटोकपी गरेर आफूभन्दा माथिका अर्का एक दलाललाई र सक्कल काठमाडौंको सिनामंगलमा रहेको एक म्यानपावरमा बुझाए ।

युवाहरूलाई क्रोएसियाको प्रोसेसिङमा ६ महिना लाग्ने जानकारी उनले गराए ।

केही महिनापछि भारतमा रहेको क्रोएसीयन दूतावासले भिसा दिन अस्वीकार गर्‍यो । त्यसपछि सक्कल डकुमेन्ट उनीहरूलाई फिर्ता गरियो ।

ती युवा जसरी पनि विदेश जाने ध्याउन्नमा थिए । उनीहरूले रोमानियाका लागि भन्दै पासपोर्ट दोस्रो दलाललाई बुझाए ।

पासपोर्ट बुझाएको २ हप्ता भएको थियो । अवैध कारोवार गरेको अभियोगमा तीमध्येका एक युवालाई प्रहरीले पक्राउ गर्‍यो ।

भएको के रहेछ भने, ती युवाको पासपोर्टसहितका डकुमेन्टको फोटोकपी देखाएर मोबाइलको सिम निकाली डिजिटल वालेटहरूमा अकाउन्ट खोली अरू कसैले अवैध कारोवार गर्‍यो ।

‘पासपोर्ट र फोटो दुरूपयोग गरी सिम निकालेर डिजिटल वालेटबाट पैसा निकालेको देखिन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘हुण्डीको पैसा डिजिटल वालेटबाट निकालेको देखिएको छ ।’

वास्तविक दोषीको पहिचान भएको छैन । 

महाशाखाका अनुसार मोबाइल सेवा प्रदायकहरूले फोटोकपीकै भरमा सिम दिँदा यस्तो समस्या हुने गरेको छ ।

(अनुसन्धानको क्रममा रहेको विषय भएकाले नाम खुलाइएको छैन ।)

००००

काठमाडौंको नयाँ बानेश्वर बस्दै आएकी अनिता (नाम परिर्वतन) उपत्यकामै घर बनाउने तयारीमा थिइन् । 

वैदेशिक रोजगारीमा रहेका उनका श्रीमान्ले क बर्गको एक बैंकमा रहेको खातामा नियमित पैसा पठाउने गरेका थिए ।

२०७१ सालयता ३८ लाख रुपैयाँ उनले पठाइसकेका थिए । 

उनले श्रीमान्सँगको सल्लाहमा घरको जग हाल्ने तयारी गरिन् । ठेकेदारलाई दिनका लागि पैसा झिक्न बैंकमा जाँदा उनको खाताबाट ८ लाख रुपैयाँ गायब थियो ।

उनले बैंकलाई ‘मेरो पैसा हरायो कहाँ गयो ? भनेर प्रश्न गरिन् । तर बैंकले तपाईं आफैँले झिक्नुभएको हो भन्ने जवाफ दियो । 

त्यसपछि उनले २०७८ मंसिर २७ गते लिखित निवेदन नै दिएर आफूले पैसा नझिकेको जानकारी गराइन् ।

बैंकले भने इन्टरनेट बैंकिङबाट पैसा झिकेको दाबी गर्‍यो । केही नलागेपछि उनी महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिन पुगिन् ।

प्रहरी अनुसन्धानका क्रममा पनि बैंकले शुरूमा त्यही जवाफ दियो । प्रहरीमा गइसकेको विषय भएकाले ग्राहकलाई सजिलै टार्न सक्ने अवस्था थिएन ।

अन्ततः बैंक ढाकछोप गर्न खोजेको आफ्नो कमजोरी बताउन बाध्य भयो ।

‘हामीले बैंकविरुद्ध नै मुद्दा दर्ता गर्छौं भनेपछि बैंकले सत्य कुरा बतायो,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने, ‘उनीहरूले नागरिकताको फोटोकपी देखाएको भरमा बैंक खातामा उल्लेख भएको मोबाइल नम्बर परिवर्तन गरिदिएका रहेछन् । त्यही मोबाइल नम्बरमार्फत अनलाइन बैंकिङबाट पैसा निकालिएको रहेछ ।’

मोबाइल नम्बर र इमेल आईडी परिवर्तनका लागि भन्दै दिएको निवेदनमा बैंकले हस्ताक्षर समेत भेरिफाइ नगरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

‘बैंकले सम्बन्धित व्यक्तिसँग सक्कल नागरिकता नमाग्दा र हस्ताक्षर समेत भेरिफाइ नगर्दा यस्तो समस्या भएको देखिएको छ,’ अनुसन्धानमा खटिएका महाशाखाका ती अधिकारीले लोकान्तरसँग भने ।

आफ्नै कमजोरी देखिएपछि बैंकले अनितालाई ८ लाख रुपैयाँ त फिर्ता गरेको छ, तर कसले यसरी पैसा निकाल्यो भन्ने खुल्न सकेको छैन ।

अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार पछिल्लो समय नागरिकता, पासपोर्ट लगायतका कागजातहरूको फोटोकपी दुरुपयोग गरी विभिन्न किसिमका अपराध गर्ने क्रम बढ्दै गएको छ ।

‘अन्य व्यक्तिको नागरिकता लगायतका कागजातहरूको दुरूपयोग बढेको छ,’ एसपी कोइरालाले लोकान्तरसँग भने, ‘विषेश गरेर सिम निकाल्नको प्रयोग गरेको पाइन्छ ।’

यस किसिमका उजुरी आउने क्रम निकै बढेको उनले बताए ।

‘सहज वितरणका नाममा फोटोकपीकै भरमा हरेक ठाउँबाट सिम वितरण गरिएको छ, तर त्यसलाई मोनिटरिङ गर्ने पाटो निकै कमजोर छ,’ नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनालले लोकान्तरसँग भने, ‘प्रविधिको विकाससँगै यसलाई व्यवस्थित बनाउनेतर्फ पनि सरकार र दूरसञ्चार कम्पनीले ध्यान दिनुपर्छ ।’

सिम वितरण गर्दा फिंगर प्रिन्ट, रेटिना स्क्यानलगायतका प्रविधिहरूको तथ्यांक राख्ने हो भने धेरै हदसम्म समस्या समाधान हुने उनको भनाइ छ । 

यता दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले सिम निकाल्दा अनिवार्य रूपमा नागरिकता देखाउनुपर्ने कानूनी व्यवस्था रहेको बताए ।

‘सिम लिँदा अनिवार्यरूपमा नागरिकता अवश्यक पर्ने व्यवस्था गरेका छौं । दूरसञ्चार कम्पनीहरूले पनि त्यसकै आधारमा सिम वितरण गर्नुपर्छ,’ प्रवक्ता पौडेलले लोकान्तरसँग भने, ‘उनीहरूले वितरण गर्ने हरेक सिम प्राधिकरणमा दर्ता हुन्छन् ।’

नागरिकता तथा पासपोर्टको दुरुपयोग गरेर कसैले सिम निकालेको पाइएमा त्यस्तो सिम रद्द हुने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । 

‘फर्जी कागजात प्रयोग गरेर सिम निकालेको पाइएमा हामीले त्यस्ता सिम रद्द गर्छौं,’ प्रवक्ता जोशीले लोकान्तरसँग भने, ‘तर अहिलेसम्म त्यस्ता घटना टेलिकममा आएका छैनन् ।’

यदि नेपाल टेलिकमका सिमहरूको दुरुपयोग गरेको खबर आएको खण्डमा प्रहरीलाई कारवाहीका लागि सिफारिश गर्ने गरेको जोशीले बताए । 

तर अहिले किराना पसलबाट पनि सिम वितरण हुने भएकाले त्यसलाई नियन्त्रण गर्न चुनौती देखिएको अधिकारीहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्