
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को बिल भुक्तानी अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटबाट गर्न सकिने भएको छ ।
व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भई जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको ‘खल्ती’ले जनाएको छ । खल्तीबाट खानेपानीको बिल भुक्तानी समय मै गरी रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।।
‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाडौंका बासिन्दाले वर्षौंदेखि पर्खिआएका छन् र यस सेवालाई हामीले डिजिटल रूपमा दिन पाउँदा धेरै उत्साहित छौं ।’
‘खल्ती’बाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ । त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्टबाट भुक्तानी गर्न सकिने खल्तीको भनाइ छ ।