
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारे विस्तृतमा छलफल भएको छ ।
बैठकमा सभामुख सापकोटाले एमसीसी अघि बढाउन सहयोग गर्ने संकेत गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
बैठकमा एमसीसीबारे विस्तृतमा छलफल भएको नेपाली कांग्रेसकी सचेत पुष्पा भुसालले बताइन् । ‘एमसीसीबारे सबै कोणबाट दलका प्रतिनिधिहरूले कुरा राख्नुभएको छ । एमसीसीबारे विस्तृतमा छलफल भयो,’ उनले भनिन्, ‘एमसीसी बाहिरभन्दा पनि सदनको छलफलको विषय बन्नुपर्छ । सदनभित्रैबाट निर्णयार्थ अघि बढाउनुपर्छ भन्नेबारे छलफल भएको छ ।’
बैठकमा एमसीसीलाई अगाडि बढाउनेबारे सभामुख सापकोटाको सकारात्मक संकेत देखिएको भुसालले बताइन् । ‘आजको बैठकमा एसीसीलाई गम्भीर रूपमा लिएर छलफल भयो । यसलाई अगाडि बढाउनेबारे सभामुखको पनि सकारात्मक संकेत पाएका छौं,’ भुसालले लोकान्तरसँग भनिन् ।
एमसीसी पारित गर्नेबारे समयसीमा सीमित भएको कारणले सदनभित्रै छलफलको विषय बनाउनेमा राजनीतिक दलहरू सकारात्मक पाएको उनले बताइन् ।
बैठकबाट बाहिरिएपछि सभामुख सापकोटाले एमसीसीको सन्दर्भमा आफू अम्पाएर मात्रै भएको र निर्णायक भूमिका राजनीतिक दलहरूको भएको प्रतिक्रिया दिएका थिए ।
‘म अलि ओपन माइन्डको छु । मैले सबैका कुरा गम्भीरतापूर्वक सुनेको छु, किनभने म वर्तमानमा सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्नुपर्छ,’ सापकोटाले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘मेरो भूमिका अम्पायरको मात्रै हो । निर्णायक त राजनीतिक दलहरू नै हुन् ।’
सभामुख सापकोटाले बोलाएको बैठक संसदमा प्रतिनिधित्व गर्ने दलमध्ये नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक सबै दलको प्रतिनिधिको उपस्थिति थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित सहभागी बैठक संसद सचिवालय सिंहदरबारमा ४ घण्टा चलेको थियो ।
बैठकमा संसद सञ्चालन गराउनका लागि प्रमुख प्रतिपक्ष दल एमालेसँग संवाद अघि बढाउनेबारे छलफल भएको नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले जानकारी दिए ।
‘संसदको सबैभन्दा ठूलो दलको भूमिका अलोकतान्त्रिक र असंवैधानिक भएको कुरा बैठकमा आएको छ । उसलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्ने र संसद सुचारु गर्नेबारे एमालेसँग छलफल गर्ने सहमति बनेको छ,’ श्रेष्ठले भने ।
त्यसबाहेक संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकबारे पनि सर्वदलीय बैठकमा विस्तृतमा छलफल भएको सभामुख सापकोटाले बताए ।
‘संसदमा विचाराधीन भएर बसेका विधेयकबारे छलफल भएको छ । नागरिकता विधेयक, नागरिक उडड्यन, हवाई विधेयक, कतिपय विधेकहरू राष्ट्रिय सभाबाट पारित भएका छन् । त्यसलाई प्रतिनिधि सभाबाट पारित गर्न लाग्नुपर्नेछ,’ सापकोटाले भने, ‘समसामयिक विषयका हरेक विषयमा विहंगम र व्यापक छलफल भएको छ । यस्ता छलफल राखेर पहल र प्रयत्न गर्ने कुरा भएको छ ।’