
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल गर्ने रणनीति बनाएको छ ।
यसका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुख अग्नि सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न आग्रह गरेका छन् ।
संसद भवन नयाँ बानेश्वरमा मंगलवार बसेको कांग्रेस बैठकले बुधवारको बैठकमा एमसीसी अगाडि बढाउने निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पारित हुने बताएका थिए ।
कांग्रेस नेता डा. शशांक कोइरालाले भोलिको बैठकमै एमसीसी टेबुल गर्ने तयारी भएको जानकारी दिए । मंगलवारको संसदीय दलको बैठकमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसीको बारेमा सांसदहरूलाई जानकारी गराएका थिए । उनले कुनै पनि हालतमा एमसीसी अनुमोदन हुनुपर्ने बताएका थिए ।
डा. महतले भोलिको बैठकमा एमसीसी टेबुल गर्ने गरी तयारी रहेको बताए ।
प्रधानमन्त्री देउवाले मंगलवार बिहान सभामुखलाई फोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न आग्रह गरेका हुन् ।
सोमवार बसेको सर्वदलीय बैठकमा सभामुख सापकोटाले आफू ‘अम्पायर’ भएको भन्दै दलहरूबीच सहमति भए कुनै प्रस्ताव नरोक्ने बताएका थिए ।