
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले वर्तमान गठबन्धन सरकार संवैधानिक अराजकता र राजनीतिक अस्थिरता पैदा गर्न लागेको बताएका छन् । त्यसैको उपजस्वरुप प्रधानान्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव आएको उनले आरोप लगाएका हुन् ।
मंगलवार बुटवलमा नेकपा एमाले इस्मा–रुपन्देही सम्पर्क कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता विष्टले राणाविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव निर्वाचन सार्ने षड्यन्त्र भएको बताए ।
हप्ता दिन अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा महाभियोगबारे केही नबोलेको बताउँदै नेता विष्टले महाभियोगको प्रक्रिया लम्बाएर निर्वाचन सार्ने गठबन्धन सरकारको कदम रहेको उनको दाबी छ । ‘एमालेविरुद्ध चाल्ने कदमलाई हामी पराजित गर्छौं,’ नेता विष्टले भने, ‘संविधानको मूल्य र मान्यता जोगाउन, संवैधानिक अंगको गरिमालाई जोगाउन चालिने कदममा एमाले पछि पर्दैन ।’
गठबन्धनका दलहरूसँग जनतामा स्थापित हुने कुनै कार्यक्रमहरू नभएकाले अहिले पनि माओवादी, समाजवादी दल चुनावसम्म गठबन्धनमा रहन चाहेको नेता विष्टको भनाइ छ ।
उनीहरूसँग ठोस कार्यक्रम नभएको भन्दै उनले एमालेसँगै एक्लाएक्लै चुनाव लड्ने तागत कांग्रेससँग समेत नभएको उनको भनाइ छ । उनले गठबन्धन मिलेर आए पनि एमाले एक्लैले पराजित गर्ने दाबी गरे ।
विष्टले गठबन्धन सरकार बने पनि ७ महिनामा नयाँ काम गर्न नसकेको बताउँदै चालु आर्थिक वर्षमा विकास खर्च जम्मा १६ प्रतिशत मात्र भएको बताए ।