०५ साउन २०८३, मंगलबार

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक, अध्यक्षको मनोनयन दस्तुर १० लाख

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक, अध्यक्षको मनोनयन दस्तुर १० लाख

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी चैत ७ र ८ गते हुने भएको छ । 

एनआरएनए निर्वाचन समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकाअनुसार फेब्रुअरी १७ देखि २२ सम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ । 

फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ देखि २७ सम्म मतदाता नामावलीमाथि दाबी विरोध, आगामी मार्च २ मा दाबी विरोधमाथि निर्णय, मार्च ३ मा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।

मार्च ४ र ५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, मार्च ६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, मार्च ६ देखि ७ सम्म उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोध, मार्च ८ मा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय र मार्च ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।

यसैगरी मार्च ११ मा उम्मेदवारले मनोनयन फिर्ता, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मार्च २१ तारिख बिहान १० बजेदेखि २२ तारिख बिहान ९:५९ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान समाप्त भएलगत्तै मतगणना गर्ने प्रमुख निर्वाचन अधिकृत भीमसेन बञ्जराले जानकारी दिए । 

संघको अध्यक्षका लागि मनोनयन पत्र दर्ता दस्तुर १० लाख रूपैयाँ तोकिएको छ । निर्वाचित पदाधिकारी तथा सदस्यले मनोनयन दस्तुर शपथ ग्रहण अगाडि बुझाउनुपर्नेछ ।

एक अध्यक्ष, चार उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक युवा उपाध्यक्ष, एक महासचिव, एक सचिव, तीन महिला सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष गरी विभिन्न ५३ पदका लागि निर्वाचन हुनेछ । 

अन्तर्राष्ट्रिय समन्वय परिषद्मा एक महिला संयोजक, एक युवा संयोजक, ६ क्षेत्रीय संयोजक, ६ क्षेत्रीय उपसंयोजक, ६ क्षेत्रीय महिला संयोजक, ६ क्षेत्रीय महिला उपसंयोजक र ६ क्षेत्रीय युवा उपसंयोजकका लागि निर्वाचन हुनेछ ।

एनआरएनए निर्वाचनका लागि संघले अधिवक्ता भीमसेन बञ्जराको संयोजकत्वमा सचिव भुषण घिमिरे (जापान) तथा रामप्रताप थापा (जर्मनी), चिरञ्जीवी ढकाल (बेलायत) र डा विष्णुमाया परियार (अमेरिका) सदस्य रहेको निर्वाचन समिति गठन गरिसकेको छ । 

संघको इतिहासमा पहिलो पटक अनलाइन प्रणालीबाट निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डर छनोट भइसकेको निर्वाचन समितिले जनाएको छ ।

संघको निर्वाचनका लागि प्राविधिलगायत अन्य पूर्वतयारी भइसकेको छ । अनलाइन मतदानका लागि महाधिवेशन प्रतिनिधि (मतदाता)ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्