प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले एमसीसी सम्झौता राष्ट्रघाती भएकोले संसदबाट पास गर्न नहुने बताएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै सांसद रावलले यस्तो बताएका हुन् ।
उनले एमसीसी सम्झौताको धारा ५ का उपधाराहरूमा अमेरिकाको वर्तमान कानून र भविष्यको कानून मान्नुपर्ने लेखेको उल्लेख गरिनुका साथै एमसीसीलाई सन्तुष्ट हुने गरी भारतको सहमति लिएर योजना छान्नुपर्ने कुरा रहेकोले एमसीसी राष्ट्रघाती हुनुका साथै नेपालको स्वाधीनता र स्वाभिमानविरोधी भएको बताए । सांसद रावलले एमसीए नेपालले विभिन्न मन्त्रालयहरूसँग सम्झौता गर्न उचित नहुने पनि बताए ।
‘एमसीसीसँग भएका मूल सम्झौता, कार्यान्वयन सम्झौता, त्यसपछि गरेका झन्डै एक दर्जन सम्झौताका थुप्रै प्रावधानहरू राष्ट्रघाती छन्, त्यसले हाम्रो देशको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान, आत्मनिर्णयको अधिकारलाई कुण्ठित गर्छ,’ उनले भने, ‘हाम्रो नेपालको संविधान बमोजिम हामी जो निर्वाचित व्यक्तिहरूले कसैको डर नमानी आफ्नो राष्ट्रको हितमा उभिनेछौँ भन्ने जुन शपथ खाएका छौँ । कुनै पनि पार्टीको नेता, संसदको सदस्यले शपथको विरुद्धमा गएर एमसीसीका राष्ट्रघाती सम्झौताका कतिपय प्रावधानहरूलाई मान्न हुँदैन ।’