
लुम्बिनी बौद्ध विश्वविद्यालय बेरुजु फर्छ्यौटमा लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ ।
बेरुजु फर्छ्यौट मूल्यांकन तथा अनुगमन समितिले बेरुजु फर्छ्यौटमा निर्धारण गरेका लक्ष्य पूरा गर्दै विश्वविद्यालय उत्कृष्ट बनेको हो । उत्कृष्ट बनेको विश्वविद्यालयलाई अनुगमन समितिले पुरस्कृत गरेको छ ।
महालेखा परीक्षकको कार्यालयबाट भएको लेखा परीक्षणमा कूल अंकको १ प्रतिशतभन्दा कम बेरुजु कायम गर्ने र विगतको बेरुजु फर्छ्यौटमा उत्कृष्टता कायम गर्ने निकायलाई समितिले पुरस्कृत गर्ने गर्दछ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आर्थिक वर्ष ०७६/०७७ को लेखा परीक्षणमा शून्य दशमलव ४० प्रतिशत मात्रै बेरुजु देखिएको छ । महालेखाले ५८ करोड २५ लाख ६४ हजारको लेखा परीक्षण गर्दा २३ लाख ४ हजार बेरुजु देखिएको छ ।
विगतका वर्षहरूमा बेरुजु रहेको ३० लाख ८१ हजारमध्ये २२ लाख ४२ हजार फर्छ्यौट भएको विश्वविद्यालयले जनाएको छ । यो ७२ दशमलव ७७ प्रतिशत हो ।
अनुगमन समितिका अध्यक्ष एवं मुख्यसचिव शंकरदास बैरागीले विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यलाई १० हजार रुपैयाँबाट पुरस्कृत गर्न सिफारिस गरेका छन् । अनुगमन समिति मुख्यसचिवको अध्यक्षतामा हुने व्यवस्था छ ।
विश्वविद्यालयले यसअघिका २ आर्थिक वर्षमा पनि लक्ष्यअनुरूप बेरुजु फर्छ्यौट गरेको थियो । २०७५ साउनदेखि २०७६ असारसम्मको बेरुजुमध्ये विश्वविद्यालयले ७८ दशमलव ०३ प्रतिशत फर्छ्यौट गरेको थियो ।
आर्थिक वर्ष ०७४/०७५ को स्रेस्ता लेखा परीक्षणबाट ० दशमलव ०८ प्रतिशत बेरुजु कायम गरेको भन्दै बेरुजु फर्छ्यौट मूल्यांकन तथा अनुगमन समितिले पुरस्कृत गरेको थियो ।
विश्वविद्यालयको लेखा परीक्षणमा बेरुजु २ करोड ९२ लाख ३८ हजार रहेको थियो । बेरुजु फर्छ्यौटका क्रममा विश्वविद्यालयकै पदाधिकारीबाट समेत असूलउपर गरिएको रजिस्ट्रार डा. तिलकराम आचार्यले बताए ।
‘बौद्ध विश्वविद्यालय मुलुककै धरोहर र आस्थाको केन्द्र हो, यस्तो संस्थामा बेरुजु हुनु अशोभनीय हुन्छ,’ उनले भने, ‘बेरुजु ० प्रतिशतमा झार्ने गरी आर्थिक पारदर्शिताको नीति हामीले अबलम्बन गरेका छौं ।’
विश्वविद्यालयले करोडौंका भौतिक पूर्वाधार निर्माणका योजनामा काम गरिरहेको छ ।
विश्वविद्यालयमा १० वर्ष अघिदेखिको बेरुजु कायम थियो । पदाधिकारीले नै मनपरी सुविधा लिने गरेका थिए । त्यो बेरुजु रकम असूल नै गरिएको रजिस्ट्रार आचार्यले बताए ।
२०७४/०७५ को लेखा परीक्षणमा बेरुजु २ लाख ११ हजार मात्रै कायम भएको थियो । त्यसअघिको बेरुजु करीब ३ करोडबाट ६६ लाख ३६ हजारमा झारिएको थियो । १ वर्षको अवधिमा विश्वविद्यालयले २ करोड २८ लाख १३ हजार फर्छ्यौट गरेको थियो ।
विश्वविद्यालयसँग नयाँ र पुरानो गरी फर्छ्यौट गर्नुपर्ने बेरुजु ३१ लाख ४३ हजार छ । बेरुजुमध्ये धेरै नियमित गर्नुपर्ने बेरुजु हो । जसलाई चालू आर्थिक वर्षमा फर्छ्यौट गरिने रजिस्ट्रार आचार्यले जानकारी दिए ।
असूल गर्नुपर्ने बेरुजु पनि असूरउपर गरिने उनले बताए ।