
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि तनहुँमा १३६ मतदानस्थल तय गरिएको छ ।
मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहजरुपमा मतदान गर्न जिल्लाका १० पालिकामा मतदानस्थल तोकिएका हुन् ।
निर्वाचनसम्बन्धी सहजीकरणको लागि जिल्लाका १० वटै पालिकामा निर्वाचन फोकल पर्सन तोकिसकिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतसहित दशवटै पालिकामा निर्वाचन अधिकृत तोकिने जिल्ला निर्वाचन कार्यालय तनहुँका निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । ‘१ हजार मतदाता बराबर १ केन्द्र राख्ने योजना बनाएका छौं,’ उनले भने, ‘फागुन १९ गते देखि २२ गतेसम्म दाबी विरोध, विवरण सच्याउन र नामावली हटाउन सबै स्थानीय तहमा पठाइने छ ।’
निर्वाचन कार्यालयले माघ २४ गतेसम्म १ लाख २८ हजार ५४२ महिला र १ लाख १९ हजार ९५१ पुरुष गरी कूल २ लाख ४८ हजार ४९३ को विवरण निर्वाचन आयोगमा पठाइएको उनले बताए । फागुन २५ गतेसम्म परेका निवेदन कार्यान्वयन गरेर २६ गते निर्वाचन आयोगमा तथ्यांक पठाइ चैत १३ गतेभित्र अन्तिम नामावली प्रकाशित गरिने छ ।
आसन्न निर्वाचनलाई स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदाता शिक्षा तथा परामर्शका कार्यक्रमलाई तीव्रता दिइएको छ । उनले भने, ‘मताधिकारबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर पारदर्शी किसिमले काम गरिएको छ ।’