काठमाडौं, १९ असार– चीन दावी गरेको छ कि, एक अमेरिकी युद्धपोत दक्षिण चीन सागरतर्फ बढ्दै विवादित सीमा नजिकै पुगेको छ ।
चीनका अनुसार अमेरिकी जलसेनाको युद्धपोत यूएसएस स्टीथम दक्षिण चीन सागमा ट्राइटन आइल्याण्डको १२ मिलको दायरामा आइसकेको छ ।

उक्त टापू पारासेल द्वीप समूहको हिस्सा हो । यो सानो टापूमाथि भियतनाम र ताइवानले पनि आफ्नो दाबी गर्दै आएको छ ।
चीनले यसलाई ‘एक गम्भीर राजनीतिक र सैन्य हस्तक्षेप’ भनेको छ, ‘राष्ट्रिय स्वायत्तता र सुरक्षा बचाउनका लागि हामीहरु सबै आवश्यक कदम उठाउनेछौं ।’
यो ‘फ्रिडम अफ नेभिगेसन’ अपरेशन चीनियाँ राष्ट्रपति शी जिनपिङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग फोनमा तय भएको कुराकानीको केही घण्टा पहिले भएको हो ।
अमेरिकाको ‘फ्रिडम अफ नेभिगेसन’ कार्यक्रम संसारभरका समुन्द्री र हवाई क्षेत्रमा ‘सबै दाबी’ लाई चुनौती दिन्छ ।
ट्रम्प राष्ट्रपति भएपछि अमेरिकी युद्धपोत चीनको विवादित सुमन्द्री सीमा नजिकै गएको यो दोस्रो पटक हो ।
गत मे महिनामा यूएसएस डेवी चीनले बनाएको कृत्रिम द्वीप मिसचीव रीफको १२ मिलको दायरामा आएको थियो । उक्त द्वीप स्प्रेन्टली द्वीप समूहको हिस्सा हो ।

अमेरिकी सुरक्षामन्त्री जेम्स म्याटिसले चीनको मानव निर्मित द्वीपको सैन्यीकरणलाई अमेरिकाले नमान्ने बताएका थिए ।
चीनले दक्षिण चीन सागरमा थुप्रै मानव निर्मित द्वीप बनाएका छन् ।
दक्षिण चीन सागरको थुप्रै क्षेत्रमा थुप्रै देशले शताब्दीदेखि दाबी गर्दै आएको छ तर अहिलेको समयमा यो तनाव लगातार बढिरहेको छ ।
यसका थुप्रै टापु र क्षेत्रमा ताइवान, चीन, भियतनाम, फिलिपिन्स, मलेसिया र ब्रुनाईले आ–आफ्नो दाबी गर्दै आएको छ ।
बीबीसीबाट