
चिनियाँ जनमुक्ति सेनाको एक जहाजले अस्ट्रेलियाको गश्ती विमानमा लेजर किरण फ्याँकेको भनी अस्ट्रेलियाले लगाएको आरोप झूटो भएको चिनियाँ अधिकारीहरूले सोमवार बताएका छन् ।
अस्ट्रेलियाको विमान चिनियाँ जहाजनजिक आएको र उत्तेजक रूपमा सोनोबोयहरू फालेको चिनियाँहरूको भनाइ छ ।
अस्ट्रेलियाले तथ्यरहित कुरा गरेको छ, चीनको रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल तान केफेले बताए ।
अस्ट्रेलियाको पी–८ एन्टी सबमरिन गश्ती विमान चिनियाँ जहाजको जत्थाको चार किलोमिटर नजिक आइपुगेको तानको भनाइ छ ।
यस अवधिमा चिनियाँ जहाजहरूले सुरक्षित, मानक र व्यावसायिक कार्य गरेको र त्यो अन्तर्राष्ट्रिय कानून तथा व्यवहार बमोजिम रहेको पनि उनले बताए ।
चिनियाँ जहाजबाट खिचिएको तस्वीर हेर्दा अस्ट्रेलियाको विमान चिनियाँ जहाज नजिक आएको र सोनोबोयहरू खसाएको पुष्टि हुने उनको भनाइ छ ।
‘हामी अस्ट्रेलियालाई यस्तो किसिमको उत्तेजक र खतरनाक कार्य तत्काल रोक्न तथा चीनलाई आधारहीन रूपमा आरोप लगाउन बन्द गर्न माग गर्छौं । द्विपक्षीय तथा सैन्य सम्बन्धलाई असर पार्न हुँदैन,’ तानले बताए ।