
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईलाई स्वागत गरेको छ ।
सोमवार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको ७ सदस्सीय प्रतिनिधि मण्डलले भन्सार विभागका नव नियुक्त महानिर्देशक भट्टराईलाई स्वागत गर्दे भन्सार सम्बन्धी नीतिगत सुझावहरु समेत पेश गरेको हो ।
उक्त भेटमा अध्यक्ष थापाले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै भन्सार मूल्याङ्कनमा देखिएका विभिन्न समस्याहरुबारे छलफल गरे ।
सोही क्रममा अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भई सकेको अवस्थामा भन्सार मूल्याङ्कन सन्दर्भसूची नै खारेजगरी भन्सारमा माल बस्तुको यथार्थ घोषणा र सही बर्गिकरण गराई भन्सार मूल्याङ्कन पद्धतीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गर्न समेत आग्रह गरे ।
छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको वर्गिकरणमा केही परिमार्जन गरिनु पर्ने बताउँदै आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढीलाई भइरहेकोले त्यसको समाधानका लागि अनुरोध गरे ।
त्यसैगरी अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा परिरहेको समस्याहरुबारे बताउँदै एउटै बस्तुमा भिन्न भिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, बे्रक लाइनिङ्ग जस्ता अत्यावश्यकिय बस्तुमा पनि सतप्रतिशत नगद मार्जिन राखी एलसी खोल्नु पर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकोले त्यसको समाधानका लागि पहल गर्न आग्रह गरे ।
सोही छलफल कै क्रममा महासचिव सुरेन्द्र उप्रेतिले २०७३ अषार २६ गते भन्सार विभाग र नाडा विच भएको सहमतिबारे जानकारी दिँदै विभागले अनलाइन पेमेण्टलाई मान्यता दिए संगै नेपाल राष्ट्र बैङ्कको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गरे ।
त्यसैगरी महासचिव उप्रेतिले नेपालमा व्याट्री उत्पादनका संभावनाहरु बढदै गएको क्रममा सवै किसिमका सवारी साधनहरुमा प्रयोग हुने व्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सवै प्रकारका कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्थाका लागि अनुरोध गरे ।
छलफलको अन्त्यमा महानिर्देशक भट्टराईले भन्सार विभागसंग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नु परेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने जानकारी गराए ।
उनले नाडाबाट प्राप्त सुझावहरुका विषयमा आवश्यक पहल गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।
सो छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको नाडाले जनाएको छ ।