
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीमा आन्तरिक सर्कुलर पठाएका छन् ।
पार्टीको केन्द्रीय समितिको बैठकबाट विस्तृत योजना र कार्यक्रम नबन्दासम्मको लागि निर्वाचनको तयारी गर्न भन्दै प्रचण्डले सर्कुलर पठाएका हुन् ।
संगठन सुदृढीकरण तथा विस्तार र निर्वाचन तयारीमा केन्द्रित हुन प्रचण्डले निर्देशन दिएका छन् ।
सबै वडा र टोलहरूमा पार्टी कार्यालय वा सम्पर्क कार्यालय खोल्न, नगर/गाउँपालिकाको बैठक फागुन १५ गतेसम्म सम्पन्न गर्न, फागुन २० सम्म वडा समितिको बैठक बसी निर्वाचन केन्द्रित तयारीको योजना बनाउन निर्देशन दिएका छन् ।
नगर/गाउँपालिकामा केन्द्रीय सदस्य वा त्यहाँको वरिष्ठ नेताको नेतृत्वमा निर्वाचन मूल परिचालन समिति बनाउन प्रचण्डले भनेका छन् ।
त्यसैगरी निर्वाचन केन्द्रित भएर अध्ययन, सर्वेक्षण तथा विश्लेषणको काम अघि बढाउन पनि प्रचण्डले सर्कुलरमा भनेका छन् ।
उनले हरेक वडामा सक्षम, इमान्दार र लोकप्रिय उम्मेदवारको रोस्टर तयार पार्न पनि निर्देशन दिएका छन् ।