२८ जेठ २०८३, बिहीबार

अब ट्राफिक प्रहरीको हातमा नयाँ प्रविधि, नक्कली लाइसेन्सधारीहरू सावधान !

अब ट्राफिक प्रहरीको हातमा नयाँ प्रविधि, नक्कली लाइसेन्सधारीहरू सावधान !

नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बोकेर ट्राफिक प्रहरीलाई झुक्याउनेहरूलाई पत्ता लगाउन प्रहरीको हातमा नयाँ प्रविधि परेको छ ।

अबदेखि ट्राफिक प्रहरीले मोबाइल एपमार्फत तत्कालै चेकजाँच गर्ने व्यवस्था शुरू गरेको छ ।

सोमवार एक कार्यक्रमबीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमति पत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एपको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीलाई लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै महानिर्देशक घिमिरेले १ वर्षे परीक्षणकालीन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली/सक्कली छुट्याउन सक्ने बताए । उनले १ वर्षे परीक्षणकालको अवधिमा ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा लाइसेन्स खारेज समेत गर्न सक्ने प्रावधान रहेको समेत जानकारी दिए ।

महाशाखा प्रमुख एसएसपी जोशीले यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स चेकजाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब उप्रान्त आवश्यकता अनुसार ट्राफिक प्रहरीले तत्कालै मोबाइल एपमार्फत लाइसेन्स प्रमाणीकरण गर्न सक्ने बताए ।

उनले नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले विकसित प्रविधिको प्रयोग गरी लाइसेन्स चेकजाँच प्रणाली सहज, सरल र प्रभावकारी हुने कुरामा जोड दिए । कसैले नक्कली लाइसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानूनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्