०१ असार २०८३, सोमबार

नेपाली पत्रकार युएई प्रहरीको हिरासतमा, परराष्ट्रमन्त्रीलाई युनिमीको ध्यानाकर्षण पत्र

नेपाली पत्रकार युएई प्रहरीको हिरासतमा, परराष्ट्रमन्त्रीलाई युनिमीको ध्यानाकर्षण पत्र


संयुक्त अरब इमिरेट्स (युएई)को प्रहरीले हिरासतमा राखेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहाइका लागि पहल गरिदिन युनिमी नेपालले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई अनुरोध गरेको छ । 

मिडियाकर्मीहरुको अन्तर्राष्ट्रिय संस्था युनिमी नेपालका अध्यक्ष गोविन्द धिताल नेतृत्वको टोलीले आज मन्त्री खड्कालाई ज्ञापनपत्र बुझाएर पत्रकार पाण्डेलाई तत्काल रिहाइका लागि पहल गर्न आग्रह गरेको हो । 

युएईमा रहेर पत्रकारितामार्फत नेपाल र नेपालीको पक्षमा आवाज उठाउँदै आउनुभएका युवा पत्रकार पाण्डेलाई लेखेकै आधारमा पक्राउ गरिनु अत्यन्त दुःखद भएको युनिमीको भनाइ छ । 

“पत्रकार पाण्डेको पक्राउका सम्बन्धमा युएईस्थित नेपाली दूतावासमा पटकपटक जानकारी गराई रिहा गर्न पहल गरिदिन परिवारका सदस्यहरुले आग्रह गर्दासमेत दूतावासले बेवास्ता गरेको थाहा हुन आएको छ”, ज्ञापनपत्रमा लेखिएको छ । 

नेपाली व्यवसायी र कामदारको संरक्षण गर्नुपर्ने दूतावासले नै त्यहाँ कार्यरत सञ्चारकर्मी नियोजितरूपमा पक्राउ पर्दासमेत बेवास्ता गर्नु अर्को आपत्तिजनक विषय बनेको युनिमीले जनाएको छ ।

युनिमीको ज्ञापनपत्र बुझेपछि मन्त्री खड्काले पत्रकार पाण्डेलाई रिहा गर्न आफ्नो तर्फबाट पहल भइरहेको र थप पहल गर्ने प्रतिबद्धता जनाए । उनले कुनै पनि नेपालीलाई विदेशी भूमिमा दुःख पर्दा नेपाली दूतावासले सहयोग र समन्वय गर्नु आधारभूत दायित्व भएकाले सोहीअनुसारको प्रयास हुने जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्