
आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ ।
पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एयरलाइन्स र यति एयरलाइन्स प्रालिबीच छुटबारे सहमति भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले गत माघ २ गते पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको थियो ।
समितिले आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिकसरह नै विदेशी पर्यटकलाई छुटदिने सम्बन्धमा बुद्ध र यति एअरलाइन्स प्रालिबीच सहमति गराएको हो । पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले विदेशी पर्यटकलाई होटलको कोठा भाडामा कम्तीमा पनि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेको समितिले जनाएको छ ।
विदेशबाट आउने नागरिकलाई हवाई भाडा चर्को भएको गुनासो बढेपछि समिति तथा एअरलाइन्सबीच हवाई भाडामा छुट दिने सहमति भएको समितिका संयोजक राजाराम गिरीले बताए । उनले भने, ‘विदेशबाट आउने पर्यटकलाई नेपाली नागरिक सरह भाडामा छुट दिने हाम्रो प्रयासमा २ हवाई कम्पनीले सहमति गरेका छन्, अन्य हवाई कम्पनीसँग पनि छलफल बढाएका छौं, उहाँहरूले पनि छुट दिनुहुनेछ ।’
समितिले कोभिड–१९ को प्रभावका कारण थला परेका उद्योग, पर्यटन क्षेत्रको पुनरुत्थान, पर्यटन उद्योगको नयाँ सम्भावनाको खोजी, पहिचान तथा प्रर्वद्धन गर्न र यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने उद्देश्यले सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलव्ध गराउनका लागि आह्वान गरेको छ ।