
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीका कारण सत्ता गठबन्धन टुटेमा प्रतिनिधि सभाको 'अर्ली इलेक्सन' हुन सक्ने संकेत गरेका छन् ।
प्रेस युनियन तनहुँले बुधवार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांग्रेस नरहेको प्रस्ट पारेका हुन् । यसअघि पौडेलले गठबन्धन जोगाउनुपर्ने आशयको अभिव्यक्ति दिँदै आएका थिए ।
'सरकारले ल्याएको प्रस्तावमा गठबन्धनका दलले सहयोग गर्नुपर्छ । गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ', पौडेलले भने, 'उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ ।'
पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गरे ।
एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको टिप्पणी गरे ।
'एमसीसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो', उनले भने, 'जनताका बीचमा भ्रम फैलाउने काम गरिएको छ ।
एमसीसी सम्झौतामाथि आज प्रतिनिधि सभामा छलफल हुँदैछ । एमसीसी पास गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनभित्र तीव्र विवाद छ ।
कांग्रेस तत्काल एमसीसी पारित गर्नुपर्ने पक्षमा छ भने माओवादी र एकीकृत समाजवादीले यथास्थितिमा एमसीसीको पक्षमा मतदान नगर्ने निर्णय नै गरिसकेका छन् ।