
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना रहेका बताएका छन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको स्वर्गीय गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै उनले भने, ‘देशलाई चिनाउने सच्चा देशभक्त कलाकार भएको र कलाकै माध्यमबाट स्वर्गीय लामाले पनि देशको चिनारी बढाउने काम गर्नुभएको थियो ।’
देशमा हाल भइरहेका विभिन्न विकृति र विसंगतिलाई चिर्दै जान र राष्ट्र तथा राष्ट्रियता जोगाउन कलाकारले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेकामा मन्त्री आलेले जोड दिए । उनले स्वर्गीय लामाका परिवारमा समवेदना समेत प्रकट गरे ।
कला, संस्कृति तथा कलाकारको संरक्षण र सम्बद्र्धनका लागि आफू र मन्त्रालयका तर्फबाट पनि पहल हुने मन्त्री आलेले आश्वासन पनि दिए ।