१६ असार २०८३, मंगलबार

सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए ?

फागुन १८, २०७८
सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए ?

लोकान्तरको नियमित प्रस्तुति 'लोकान्तर राउन्ड अप'मा वितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रम प्रस्तुत गरिएको छ-

मंगलबार धुमधामका साथ महाशिवरात्रि पर्व मनाइएको छ । सो अवसरमा राजधानीको पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनले दर्शन गरेका छन् । कुनै अप्रिय घटना नहोस् भने पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । करीब पाँच हजार नेपाल प्रहरी, तीन हजार ५०० सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाकासमेत गरी करीब १० हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको सुरक्षा उपसमिति संयोजकसमेत रहेका कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । 

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क रुपमा पिउने पानी, भोजन, गुर्जो चियासहित ६० प्रकारका जडिबुटीबाट बनेको चियाको धुलो, स्वास्थ्य शिविरलगायत सेवा प्रदान गरिएको थियो । 
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । महाशिवरात्रिका लागि मंगलबार बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो ।  पशुपतिनाथ मन्दिरमा शिवरात्रिमा चारै प्रहर विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।
००००
यसैगरी महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गएर पूजा आराधना एवं दर्शन गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गरेर विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन् । यस्तै पूर्वाराजा ज्ञानेन्द्र शाहले पनि पूजा आराधना गरेका छन् ।
००००
शिवरात्रि पर्वका अवसरमा सयौं भक्तजनले गोसाइँकुण्ड शिवजीको दर्शन तथा पूजा आराधना सम्पन्न गरेका छन् । पैदल मार्गको लौरीविनायकदेखि तीर्थस्थलसम्म बाक्लो हिउँ जमेका कारण निलाद्री पर्वतमा विराजमान भगवान् शिवको दर्शनार्थ सबै यात्रु हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए । यस्तै देशभरका शिवालयहरुमा पनि भक्तजनको उल्लेख्य सहभागिता रह्यो । 
००००
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सम्बन्धमा संसदबाट पारित भएको व्याख्यात्मक घोषणाको अर्थ छैन भन्नेहरू अन्तर्राष्ट्रिय कानून नबुझेका अज्ञानी भएको टिप्पणी गरेका छन् । 
मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘कसैकसैले भनेजस्तो केही पनि होइन यो भनेजसरी प्रचार गर्न खोजिएको छ, यो व्याख्यात्मक घोषणालाई केही पनि होइन भनेर घोषणा गर्न खोजिएको छ, त्यसलाई अन्तर्राष्ट्रिय ट्रिटी सम्बन्धी व्यवहारको ज्ञान नभएका अज्ञानीहरूको कुरा मात्रै हो ।’

उनले सभामुख अग्निप्रसाद सापकोटालाई घुँडा टेकाउने कुरा नसोच्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी पनि दिएका छन् ।
००००
एमसीसीसँगको सम्झौता व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएको २ दिनपछि नेकपा एमालेले आधिकारिक धारणा सार्वजनिक गर्ने भनेर पत्रकार सम्मेलन आयोजना र्गयो । 
मंगलवार तीनकुनेको रोयल ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा एमालेले १२ बुँदे स्पष्टीकरण पेश र्गयो तर वक्तव्यमा एमसीसी सही वा गलत, देशको पक्षमा वा विपक्षमा, पार्टीमा एमसीसीको पक्षमा छ वा विपक्षमा भन्ने स्पष्ट धारणा उल्लेख भएको छैन ।

बरू पत्रकार सम्मेलनमा सत्ता गठबन्धनप्रतिको आक्रोश व्यक्त भयो । एमालेलाई कमजोर पार्नका लागि गठबन्धन लागिपरेको गुनासोयुक्त अभिव्यक्ति प्रेस विज्ञप्तिमा उल्लेख छ । 
एमसीसीबारे पार्टीको धारणा संसदमा राख्न चाहेको तर एमालेलाई प्रक्रियामा सहभागी हुन नदिएको तर्क एमालेको छ । प्रेस विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ, ‘फागुन १५ गतेको प्रतिनिधिसभा बैठकका दुवै सत्रमा हाम्रो पार्टीलाई प्रक्रियामा सहभागी हुनबाट वञ्चित गरियो । यसले देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी गठबन्धनको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ । संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई वेलमा राखेर अवरोधका बीच यस्तो संवेदनशील निर्णय गरिएको छ ।’ पत्रकार सम्मेलनमा ओली सभामुखमाथि खनिएका थिए भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको पनि आलोचना गरेका थिए । 
००००
पार्टीमा असन्तुष्टि जनाइरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रेष्ठको निवास गएका छन् । प्रचण्ड मंगलवार दिउँसो श्रेष्ठको निवास हात्तीवन पुगेका हुन् ।

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पारित गरेको विषयलाई लिएर माओवादीभित्र विवाद चर्केको छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयमा नारायणकाजीले असहमति जनाएका थिए ।
००००
संसदबाट अनुमोदन भइसकेको अमेरिकी सहयोगको एमसीसी परियोजनाविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टी र २ मोर्चाले आन्दोलन घोषणा गरेका छन् ।

फागुन २० गतेदेखि चैत ६ गतेसम्म अन्तक्र्रिया विरोध प्रदर्शन र सभाका कार्यक्रम घोषणा गरिएका छन् ।
००००
नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेसन (आइओसी)ले तेलको मूल्य बढाएर पठाएको छ । रुस र युक्रेनबीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य प्रतिव्यारेल ९५ देखि १०५ डलरसम्म पुगेकाले लागत बढ्दा मूल्य बढेर आएको निगमले बताएको छ । 

आयल निगमका अनुसार ७ फागुनमा भएको मूल्य समायोजनको तुलनामा पेट्रोलमा ३.८९, डिजेलमा ३.०८, मट्टितेलमा १०.३०, हवाई इन्धनमा ३.३२ रुपैयाँ प्रतिलिटर र एलपी ग्यासमा प्रतिसिलिण्डर ९९.१७ रुपैयाँले बढेर आएको छ ।
००००
मेचीनगर नगरपालिकाले भारतसँगको ३२ किलोमिटर अन्तर्राष्ट्रिय सीमा अनुगमन गरेको छ । नगरको पूर्वी सीमा क्षेत्रको अनुगमनका क्रममा ७३ वटा सीमास्तम्भ हराएको पाइएको नगरप्रमुख विमल आचार्यले बताए । 

मेचीनगरको वडा नं १, ४, ५, ६, ७ र १५ भारतसँग जोडिएको छ । सीमा क्षेत्रको लम्बाइ ३२ किलोमिटर रहेको छ । सिमानामा मेची नदी रहेको छ । सो क्षेत्रमा नेपाल र भारतलाई छुट्याउने २२१ वटा सीमास्तम्भ स्थापना गरिएका थिए । अनुगमन गर्दा १४८ स्तम्भ मात्र फेला परेको नगरप्रमुख आचार्यले जानकारी दिए ।
००००
नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनका लागि गोपालप्रसाद पोखरेल समूहले उम्मेदवारी घोषणा गरेको छ । युनियनका वर्तमान अध्यक्षसमेत रहेका खोटाङ निवासी पोखरेलले आगामी कार्यकालका लागि पुनः उम्मेदवारी दिन लागेका हुन् । अध्यक्ष पोखरेल समूहको वरिष्ठ उपाध्यक्षमा उत्तम कटवाल, महासचिवमा दुर्गा फुँयाल, उपाध्यक्षमा यज्ञ वलीले उम्मेदवारी दिने भएका छन् ।
००००
पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ६ हजार ५०४ जनामा परीक्षण गर्दा १५८ जनामा पुष्टि भएको हो ।
००००
सेना दिवस एवं महाशिवरात्रिको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेर सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कलासंस्कृति प्रस्तुत गरेको हो । 
हरेक वर्ष महाशिवरात्रिका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ । सेनाले विभिन्न सांस्कृतिक कार्यक्रम र साहसिक खेलहरू प्रस्तुत गरेको थियो ।
००००
नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा दोस्रो चरणको निर्वाचनअघि नै सर्वसम्मत निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्