
कुल ३५ सय किलोमिटर साझा सीमा भएका भारत र चीन विगत चार हप्तादेखि सीमा विवादमा अल्झिएका छन् ।
यी दुई देशले सन् १९६२ मा सीमाकै विषयमा युद्ध लडेका थिए र अझै पनि कैयौं क्षेत्रमा समस्या समाधान हुन बाँकी छन् जसका कारण बेलाबेलामा तनाव चर्किने गरेका छन् ।
गत महिना विवाद उठेदेखि दुवै देशका सैनिकले सेना तैनाथी गरेका छन् र एकअर्कालाई पछि हट्न आह्वान गरेका छन् ।
विवादको शुरुवातचीनले सीमाक्षेत्रको एक पठार भएर सडक बढाउन कोशिश गरेको भन्दै भारतले विरोध गरेपछि यो विवाद शुरु भएको हो । उक्त पठारलाई भारतीयहरू डोक्लाम भन्छन् अनि चिनियाँहरू चाहिँ दोङलाङ ।
यो पठार चीन, सिक्किम र भुटानको मिलनविन्दु हो र बेइजिङ अनि थिम्पुबीच यसमाथि विवाद चलिरहेको छ । भारतले यो पठारमा भुटानको दाबीलाई समर्थन गरेको छ ।
सडक निर्माण पूरा भएपछि भारतलाई पूर्वोत्तर राज्यहरूसँग जोड्ने (चल्लाको घाँटी पनि भनी चिनिने) २० किलोमिटर चौडा कोरिडोरमाथि चीनको थप पहुँच हुने चिन्ता भारतको छ ।
भारतीय सैन्य अधिकारीहरूले क्षेत्रीय विश्लेषक सुबिर भौमिकलाई बताएअनुसार सडक निर्माण समूहको विरोध गरेर उनीहरूलाई रोकेपछि चिनियाँ सैनिकहरूले भारतको सीमाभित्र पसेर लाल्टेन आउटपोस्टनेर रहेका दुईवटा बंकर ध्वस्त पारेका थिए ।
‘हामीले फायर खोलेनौं । हाम्रा जवानहरूले मानव पर्खाल बनाए र चिनियाँहरूलाई थप घुस्नबाट रोके,’ नाम नबताउने शर्तमा एक ब्रिगेडियरले भने ।
चिनियाँ अधिकारीहरूले सडक निर्माणको विरोध गरेर भारतीय सीमा गार्डहरूले चिनियाँ भूमिमा भएका ‘सामान्य गतिविधि’ मा अवरोध पु–याएको बताउँदै भारतलाई तत्कालै पछि हट्न आह्वान गरेका छन् ।
वर्तमान स्थितिभारत र चीन दुवैले सीमा क्षेत्रमा थप सैनिक तैनाथ गरेका छन् र सञ्चारमाध्यममा आएका जानकारी अनुसार दुवै पक्ष ‘आँखामा आँखा जुधाएर’ बसेका छन् ।
चीनले सिक्किमको नाथु ला पास हुँदै तिब्बतमा रहेको मानसरोवर दर्शन गर्न गएका ५७ भारतीय तीर्थयात्रीलाई रोकेर समेत प्रतिकार गरिरहेको छ । मानसरोवर हिन्दूहरूका लागि पवित्र ताल हो र दुवै छिमेकीले तीर्थयात्रुलाई दर्शन गर्न दिने औपचारिक सम्झौता गरेका छन् ।

यसैबीच भुटानले चीनलाई सडक बनाउन बन्द गर्न भनेको छ र यसरी सडक बनाउँदा दुई देशबीचको सम्झौताको उल्लंघन भएको बताएको छ ।
के भन्छ भारत ?भारतीय सैन्य विज्ञहरूका अनुसार चिनियाँ आक्रमणविरुद्ध आक्रामक जवाफ फर्काउनका लागि भारतले सिक्किम मात्र प्रयोग गर्न सक्छ र हिमालयको सिमानामा भारतीय सैनिकहरूका लागि भौगोलिक र रणनीतिक फाइदा रहेको ठाउँ यही मात्र हो ।
भारतीयहरू यहाँ अग्लो भूमिमा छन् भने चिनियाँहरू भारत र भुटानका बीचमा च्यापिएको स्थितिमा छन् ।
‘चिनियाँहरूलाई यो थाहा छ त्यसैले उनीहरू हाम्रो फाइदालाई ध्वस्त पार्न कोशिश गरिरहन्छन्,’ सेवानिवृत्त मेजर जनरल गगनजीत सिंहले बीबीसीलाई बताए । उनले पहिले सीमामा सैनिकहरूको नेतृत्व गरेका थिए ।
अघिल्लो हप्ता विदेश मन्त्रालयले सडक निर्माणले ‘यथास्थितिमा उल्लेख्य परिवर्तन ल्याएको र भारतको सुरक्षाका सवालमा गम्भीर प्रश्न खडा गरेको’ बतायो ।
भारतीय रक्षामन्त्री अरुण जेट्लीले सन् २०१७ को भारत सन् १९६२ को भारत नरहेको चेतावनी दिँदै आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्ने अधिकार रहेको बताए ।
के भन्छ चीन ?चीनले उक्त क्षेत्रमा आफ्नो सार्वभौमसत्ताको दाबी दोहो–याएको छ र उक्त सडक आफ्नै क्षेत्रमा बनाएको बताउँदै भारतीय सैनिकहरूले ‘अनावश्यक घुसपैठ’ गरेको बताएको छ ।
भारतले सन् १९६२ को युद्ध बिर्सनु नहुने बताउँदै चीन त्यतिखेर पनि भारतभन्दा बढी नै शक्तिशाली रहेको चेतावनी दिएको छ ।
सोमवार चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले सिक्किमसँगको सिमाना ब्रिटिशहरूसँगको सन् १८९० को सम्झौताबाट टुंगिसकेको बताए र भारतले यसको उल्लंघन गर्नुलाई ‘अत्यन्त गम्भीर’ रूपमा लिएको भने ।
त्यस्तै ग्लोबल टाइम्स पत्रिकाले सडक परियोजनामा हस्तक्षेप गरेर भारतले भुटानको सार्वभौमसत्तालाई सम्मान नगरेको आरोप लगायो जबकि भुटानले चीनलाई सडक निर्माण रोक्न भनेको छ ।
भुटानको भूमिकाभारतका लागि भुटानी राजदूत वेत्सोप नाम्ग्येलले चीनको सडक निर्माण कार्य ‘दुई देशबीचको सम्झौताको उल्लंघन’ भएको बताएका छन् ।

भुटान र चीनबीच औपचारिक सम्बन्ध छैन तर उनीहरू दिल्लीस्थित आफ्ना मिसनमार्फत सम्पर्कमा रहन्छन् ।
सुरक्षा विश्लेषक जयदीप साइकियाले बीबीसीलाई बताएअनुसार बेइजिङले केही समयदेखि थिम्पुसँग सिधै सम्पर्क बनाउन चाहिरहेको छ । भुटान दक्षिण एसियामा भारतको सबभन्दा नजिकको साझेदार हो ।
‘भुटानको सार्वभौमसत्ताको कुरा उठाएर उनीहरू थिम्पुलाई बेइजिङतर्फ लान चाहन्छन् जसरी नेपाल गएको छ,’ उनले भने ।
अब के ?उक्त क्षेत्रमा भारत र चीनले सन् १९६७ मा लडाईं गरेका थिए र तनावहरू यदाकदा उठिरहन्छन् । प्पणीकारहरूका अनुसार पछिल्लो घटनाक्रम चाहिँ हालैका वर्षमा भएकोमध्ये सबभन्दा गम्भीर विषय हो ।
तिब्बती धर्मगुरु दलाई लामा भारतमा बस्छन् र यो पनि दुई देशबीचको विवादको विषय हो ।
खासमा अहिलेको विवाद पनि दलाई लामाले अरुणाचल प्रदेशमा गरेको भ्रमणमाथि चीनले गरेको क्रुद्ध विरोधको केही हप्ताभित्र आएको हो । अरुणाचललाई चीनले आफ्नो भएको दाबी गर्दै आएको छ ।

एसिया यी दुई विशाल मुलुकहरूबीचको सम्बन्ध थप नखस्किएला किनकि चीनले हिमाचल प्रदेशबाट तिब्बत छिरेका ५६ जना हिन्दू तीर्थयात्रीलाई मानसरोवर जाने अनुमति दिएको छ ।
‘उनीहरू सरोवरतर्फ गइरहेका छन् र सुरक्षित छन्,’ वरिष्ठ पर्यटन अधिकारी धीरज गार्बियलले अघिल्लो हप्ता बताए ।
विज्ञहरूका अनुसार यसबाट चीनले सबै सीमाक्षेत्रभन्दा पनि विशेष रूपमा सिक्किम–भुटान सीमामा तनाव बढाएको देखिन्छ ।