
लुम्बिनी प्रदेशको बर्दिया शान्ति बजार र सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुरको सम्बन्ध निकै नजिक छ ।
दिनहुँ कामका लागि शान्ति बजारबाट स्थानीय टीकापुर आउँछन् भने टीकापुरका स्थानीय शान्तिबजार पुग्छन् ।
गेरुवा गाउँपालिकामा रहेको शान्तिबजारको व्यापारिक केन्द्र पनि टीकापुर हो । टीकापुरबाट सामान लिएर बिक्री गर्ने थुप्रै व्यापारी छन् । त्यहाँबाट बर्दियाको राजापुरभन्दा नजिक टीकापुर पर्छ । त्यसैले पनि त्यहाँका नागरिकलाई टीकापुर आउन सजिलो छ ।
आउन सजिलो भए पनि त्यसको बन्देज कर्णाली नदीले लगाएको छ । कर्णाली नदी तरेर आउन सम्भव नभएको र सहजरूपमा आउनलाई पुल पनि छैन ।
वर्षौंदेखि शान्तिबजार र टीकापुर जोड्ने सन्कट्टीमा डुंगा सञ्चालन हुँदै आएको छ । नागरिकको ओहोरदोहोरको माध्यम वर्षौंदेखि त्यहीँ डुंगा बनेको छ । शान्ति बजारका वासिन्दा किशोर चौधरीलाई दैनिक टीकापुर ओहोरदोहोर गर्नुपर्छ ।
व्यावसायिक कामकाजका लागि डुंगामा ओहोरदोहोर गर्दा उनको निकै खर्च हुने गरेको छ । ‘राजापुर हुँदै टीकापुर आउन धेरै टाढा छ । सनकट्टीबाट आउँदा खर्च बढी हुन्छ,’ किशोर भन्छन्, ‘दैनिक १०० रुपैयाँ डुंगा चडेको मात्रै तिर्नुपर्छ । शान्ति बजारबाट टीकापुरसम्मको आवतजावत गर्न सहज भए मेरो मासिक ३ हजार रुपैयाँ रुपैयाँ बच्थ्यो ।’
टीकापुर नगरपालिका–२ का विकास विश्वकर्माको गुनासो पनि उस्तै छ । उनलाई पनि बर्दिया र टीकापुर ओहोरदोहोर गरिरहनुपर्छ । व्यवसायका लागि दैनिक ओहोरदोहोर गर्दा निकै खर्च हुने गरेको विकास बताउँछन् ।
‘दिनभरि कमाएको पैसा नदी तर्दा सकिन थाल्यो । काम नगरेर पनि हुँदैन । घर एकातिर र व्यापार अर्कोतिर हुँदा निकै समस्या भएको छ,’ उनी भन्छन्, ‘कर्णाली नदीमा पक्की पुल बन्ने कुरा पटक–पटक सुनिन्थ्यो तर त्यो कुरामै सीमित भएजस्तो छ । नदीमा पुल भए सहजरूपमा आवतजावत गर्न सकिन्थ्यो ।’
आफू अनुकूल नभएर नदीमा डुंगा अनुकूल आफूहरू चल्नु परेको छ तर पुल भएको भए जतिबेला पनि आवतजावत गर्न सकिने उनी बताउँछन् । – झलनाथ खनाल/रासस