
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई समयानुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको आठौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले संघीय निजामती सेवा ऐनलाई अगाडि बढाउन र कर्मचारी समायोजनका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
‘निजामती सेवा समायोजनमा देखिएको असन्तुष्टिलाई यथाशीघ्र सम्बोधन गरिन्छ, जनतालाई मुस्कानसहितको सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्छ,’ उनले भने । राजनीतिका आधारमा निजामती कर्मचारीलाई भेदभाव नगरी राष्ट्रहितका लागि उनीहरूलाई लगाउनुपर्ने उनको भनाइ थियो । उनले प्रभावकारी ढंगले काम गर्न कर्मचारीलाई आग्रहसमेत गरे ।
प्रधानमन्त्री देउवाले ट्रेड युनियनको अधिकारलाई संविधानले स्पष्ट व्याख्या गरेको बताउँदै ट्रेड युनियनलाई व्यवस्थित र परिमार्जन गर्दै लैजानको लागि सरकारको पूर्ण समर्थन रहने उल्लेख गरे । निजामती कर्मचारीले सरकारको नीति र योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै लैजानुपर्ने उनको भनाइ थियो ।
सरकारलाई सफल बनाउने जिम्मा भनेको निजामती कर्मचारी भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘लोकतान्त्रिक मुलुकमा निजामती सेवाको महत्त्वपूर्ण भूमिका रहेको छ, निजामती कर्मचारी कानुनप्रति इमान्दार, बफादार, अब्बल र अनुशासित हुनुपर्छ ।’ सरकार र जनताबीच निजामती कर्मचारीले पुलको काम गर्दै आएको उनको भनाइ थियो ।