
ललितपुरको कोन्जोसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
आइतवार साँझ खाना खाएर सुतेका परिवारका ५ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी शिद्धिविक्रम शाहले बताए ।
उनका अनुसार साँझ खाना खाएर सुतेका ५ जनाको मृत्यु भएकोबारे वडाध्यक्ष तीर्थ धलानले प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय कोन्जोसोमका इन्सपेक्टरको टोली तत्कालै घटनास्थलमा पुगेको थियो । २ दिनका नाबालकसहित सुभाष स्याङ्ताङलाई पाटन अस्पताल पुर्याएका थिए । पाटन अस्पतालमा नाबालकको मृत्यु भएको र सुभाषको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
५५ वर्षीया काइली स्याङ्ताङ, बुहारी २२ बर्षीया सुष्मा स्याङ्ताङ, ९ वर्षीय नाति आशिष स्याङ्ताङ र ५ वर्षीया आस्मा स्याङ्ताङको घटनास्थलमा मृत्यु भएको एसपी शाहले लोकान्तरलाई बताए ।
प्रहरीका अनुसार घटनास्थलमा आगो बालेको कोइला र केही वान्ता गरेको देखिएको छ । प्रारम्भिक अनुसन्धानमा निसास्सिएर मृत्यु भएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।
फरेन्सिक डाक्टरसहित परिसर ललितपुरका प्रमुख घटनास्थल पुगेका छन् ।