विश्व स्वास्थ्य संगठनले युक्रेनका सार्वजनिक स्वास्थ्य प्रयोगशालामा रहेका उच्च जोखिमयुक्त रोगाणुहरू नष्ट गर्न त्यहाँको सरकारलाई सुझाव दिएको छ ।
ती रोगाणुहरू चुहिएर मानिसहरूमा रोग फैलाउन सक्ने भएकाले त्यसलाई रोक्नका लागि नष्ट गर्ने सुझाव संगठनले दिएको हो ।
युक्रेनमा रुसी सैनिकहरूको गतिविधि तथा शहरमा बमवर्षाका कारण रोगाणुहरू जनसंख्यामा फैलिने सम्भावना रहेको जीवसुरक्षा विशेषज्ञहरू बताउँछन् । विशेषगरी स्वास्थ्य प्रयोगशालामा क्षति पुगेमा रोग फैलिने जोखिम बढ्नेछ ।
धेरै मुलुकमा जस्तै युक्रेनमा रहेका सार्वजनिक स्वास्थ्य प्रयोगशालाहरूले पशु र मानवलाई असर पार्ने खतरनाक रोगको जोखिमलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा अनुसन्धान गर्ने गरेका छन् ।
युक्रेनका प्रयोगशालामा कस्ता रोगाणु वा विषाणु छन् भनी विश्व स्वास्थ्य संगठनले खुलाएको छैन । आफूले गरेको सिफारिश युक्रेनले पालन गरे नगरेको पनि संगठनले बताएको छैन ।