२९ जेठ २०८३, शुक्रबार

उपाधि लिएर आउँछौं– कप्तान राई

फागुन २७, २०७८
उपाधि लिएर आउँछौं– कप्तान राई

भारतमा आयोजना हुन लागेको साफ यु–१८ महिला च्याम्पियनसिपमा सहभागि हुने महिला टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेको छ । 

एन्फा मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर महिला टोलीलाई विदाई गरेको हो । विदाई पछि बोल्दै नेपाली टोलीकी कप्तान प्रिती राईले तीन टोली सम्मिलित प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि उचाल्ने रहेको बताएकी हुन् । नजिकिँदै गरेको महिला लिगका लागि खेलाडीले तयारी गरिरहेकाले खेलाडीको फिटनेस राम्रो भएको र बलिया टोली भएपनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले बताइन् ।

लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टोलीले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा सहभागिता जनाउँदै छ । महिला टोलीलाई अनुभवी दिलाउने लक्ष्य सहित प्रतियोगितामा सहभागिता जनाउन लागेको भन्दै महिला विभाग प्रमुख हरि खड्काले बलिया टोलीसँग राम्रो फुटबल खेलेर स्वदेश फर्किने बताए ।

सन २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बन्चित भएको थियो ।

तेस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक भारत सहित नेपाल र बंगलादेशले भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म प्रतिस्पर्धा गर्दै छन् । च्याम्पियनसिपका लागि टोली शनिबार भारत प्रस्थान गर्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ ।

नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ भने दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दो मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

शीर्ष टोलीले उपाधि जित्नेछ । यहि प्रतियोगिताका लागि मुख्य प्रशिक्षकका दर्शन भक्तराज लावतले बिहीबार २३ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेका थिए ।

टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा पदाधिकारी र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला लगायतले विदाई गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्