
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा मन पर्ने बस्ने र मन नपर्ने जाने बताएका छन् ।
प्रेस सेन्टर नुवाकोटले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मन पर्ने पार्टीमा बस्ने र नपर्ने जाने हुने भएकाले यसलाई ठूलो ठान्न नहुने बताएका हुन् ।
‘केही साथीहरूले एमसीसी पार्टीले व्याख्यात्मकरुपमा पास गर्यो भनेर एमालेमा जान लागेको सुनियो, जसले जस्ताको तस्तै पारित गर्नुपर्छ भन्यो उसैकोमा जाने रे,’ उनले भने, ‘पहिले नै विचलित भइसकेका हुन्, पार्टीमा मन पर्ने बस्ने हुन्छ, मन नपर्ने जाने हुन्छ, यसलाई ठूलो ठान्न हुँदैन ।’
यस्तै उनले आफूहरू निर्वाचन केन्द्रित दुई महिनाको अभियानमा रहेको बताएका छन् ।
‘एमसीसीकै कारण पार्टी विभाजित हुने हो कि भन्ने बाहिर कुराहरू पनि चले, ’ उनले भने, ‘तर हामीले रचनात्मक ढंगले चुनाव केन्द्रित हुनुपर्छ, देशव्यापी रुपमा अभियान चलाउनुपर्छ भनेर सर्वसम्मत निर्णय गरेका छौं ।’
साथै उनले निर्वाचनमा आफ्नै तागतमा जित्ने विषयलाई उच्च प्राथमिकता दिने र कसैसँग तालमेल गर्नु परे गठबन्धनकै बीचमा गर्न जोड दिने नीति रहेको उल्लेख गरे ।