युद्धग्रस्त युक्रेनको अर्धसैनिक बलमा प्रवेश गरेका भारतीय विद्यार्थी सैनिकेश घर फर्कन तयार रहेको उनका पिताले बताएका छन् ।
तमिलनाडुको कोयम्बटुरका सैनिकेश युक्रेनको खार्किभस्थित नेसनल एयरोस्पेस विश्वविद्यालयमा एयरोस्पेस इन्जिनीयरिङ पढिरहेका थिए ।
युद्ध शुरू भएपछि उनी जर्जियन नेसनल लिजन नामक स्वयंसेवी अर्धसैनिक निकायमा भर्ती भएका थिए ।
सैनिकेशका पिता रविचन्द्रनले तीन दिनअघि छोराकाले सम्पर्क गरेको बताए ।
‘ऊ घर फर्कन तयार छ । तर त्यसपछि मैले उससँग सम्पर्क गर्न पाएको छैन । केन्द्र सरकारका अधिकारीहरू हामीसँग सम्पर्कमा छन् । छोरोलाई युक्रेनबाट छिट्टै ल्याइने आशा छ,’ रविचन्द्रनले बताए ।
युक्रेनमा रुसले आक्रमण बढाएपछि भारतले आफ्ना नागरिकको निष्काशन कार्यलाई स्थगित गरेको छ । युक्रेन र छिमेकी मुलुकहरूबाट सबै उडानहरू अहिलेलाई रोकिएको छ ।
‘सैनिकेशका मातापिताले तत्काल भारत फर्किनका लागि सम्झाउँदा उसले राम्रो जवाफ दिएन । सरकारले युक्रेनबाट भारतीय विद्यार्थीहरू सुरक्षित निष्काशनका लागि अनेकौं कदम चालेको छ । तर सैनिकेशले भारत फर्किन कुनै इच्छा देखाएनन् । युद्ध शुरू भएपछि भारतीय दूतावाससँग पनि उनले सम्पर्क गरेनन् । युद्धभूमिमा सैनिकेशलाई खोज्न सजिलो छैन,’ एक वरिष्ठ प्रहरी अधिकारीले बताए ।