काठमाडौं, २३ असार- शान्ति प्रक्रियामा आउँदा दर्ता छुट दिइएका गाडी माओवादी नेताले आफूखसी प्रयोग गर्दै आएका छन् ।

सरकारले १० वर्षअघि माओवादी लडाकूलाई ५७, नेतालाई ३५ र केन्द्रीय कार्यालयलाई दुई गरी ९४ वटा गाडी दर्ता छुटमा उपलब्ध गराएको थियो । माओवादीले ती गाडी पार्टी केन्द्रीय कार्यालयको सम्पत्तिका रूपमा नेताका नाममा दर्ता गराएको थियो ।
तर, अहिले ती गाडी कुन अवस्थामा छन् भन्ने विवरण माओवादी केन्द्रीय कार्यालयसँग छैन । २०७२ साल फागुनमा बसेको माओवादी स्थायी समिति बैठकले पार्टीका सम्पत्ति पार्टी केन्द्रीय कार्यालयमा अभिलेखीकरण गर्ने निर्णय गरे पनि अहिलेसम्म केन्द्रीय कार्यालयले त्यसको रेकर्ड राख्न सकेको छैन, अन्नपूर्ण पोस्टमा खबर छ ।
९४ गाडीमध्ये ५७ वटा माओवादी लडाकु नेपाली सेनामा समायोजन हुँदा शान्ति मन्त्रालयमा बुझाइएको माओवादी नेता बताउँछन् ।
बाँकी ३७ गाडी भने अहिले विभिन्न समूहमा विभाजित माओवादी नेतासँगै छ । त्यसमध्ये २६ माओवादी केन्द्र, चार मोहन वैद्यको क्रान्तिकारी माओवादी, तीनवटा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका नेतासँग र चारवटा नेत्रविक्रम चन्दको पार्टी नेकपाका नेतासँग छन् ।
कतिपय माओवादी नेताले यो अवधिमा राज्यका तर्फबाट गाडी सुविधासमेत पाएका छन् । त्यसरी सुविधा पाएपछि पार्टी बैठकले दोहोरो सुविधा नलिन निर्देश गरेको थियो । तर, त्यो निर्देशन कार्यान्वयन नभएको माओवादी नेता बताउँछन् ।