
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।
ओलीकै घमण्डका कारण वामपन्थीहरूको दुई तिहाइ नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै उनले स्थानीय निर्वाचनमा ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने बताएका हुन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्रहालय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा विचौलियालाई बुझाएको आरोप लगाए ।
नेकपा (एकीकृत समाजवादी)का नेता उनले ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमण्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए । ‘त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुइटैलाई दाज्यौँ भने अहंकारमा कुनै कमी छैन,’ उनले भने, ‘तपाईंहरू मूल्यांकन गर्नुहोस् । जनताले आगामी वैशाख ३० गते जवाफ दिनेवाला छन् ।’