
युक्रेनका उग्रराष्ट्रवादी समूहहरूले लभिभमा रहेका अमेरिकी तथा पश्चिमी मुलुकहरूको कूटनीतिक भवनमा आक्रमण गर्ने षड्यन्त्र रचेको खुलासा भएको रुसी सेनाले दाबी गरेको छ ।
रुसको रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेनकोभले शनिवार पत्रकारहरूसँग कुरा गर्दै यो खुलासा गरेका हुन् ।
रुसले युक्रेनमाथि आक्रमण गर्नुभन्दा केही दिनअघि अमेरिका र अन्य पश्चिमी मुलुकहरूले लभिभमा आफ्ना दूतावासका कर्मचारीहरूलाई सारेका थिए । लभिभ युक्रेनी राष्ट्रवादीको गढ मानिन्छ र त्यो राजधानी किएभभन्दा ५०० किलोमिटर टाढा छ ।
यस षड्यन्त्रको सूचना सिक्योरिटी सर्भिस अफ युक्रेनका एक अधिकारीले दिएको रुसको भनाइ छ । ती अधिकारीले रुसी फौजसामु स्वेच्छाले आत्मसमर्पण गरेका थिए ।
‘ती अधिकारी रुसले युक्रेनी राष्ट्रवादीहरूबाट मुक्त गराएको स्थानमा विध्वंस तथा आतंक मच्चाउन तयार समूहहरूलाई तालिम दिँदै आएका थिए,’ कोनाशेनकोभले बताए ।
यस्तो गतिविधिमा संलग्न एसबीयू एजेन्ट र अन्य व्यक्तिको सूची पनि ती अधिकारीलीले रुसी सेनालाई दिएको दाबी कोनाशेनकोभले गरे ।