१३ असार २०८३, शनिबार
छात्रामाथि यौन दुर्व्यवहार प्रकरण

झडपमा प्रहरी जवानको मृत्यु भएपछि मोरङको लेटाङमा अनिश्चितकालीन कर्फ्यू

चैत ७, २०७८
झडपमा प्रहरी जवानको मृत्यु भएपछि मोरङको लेटाङमा अनिश्चितकालीन कर्फ्यू

मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ सहित आसपासका क्षेत्रमा सोमवार बिहानदेखि कर्फ्यू घोषणा गरिएको छ ।

लेटाङ नगरपालिकाका वडा नम्बर ५ को सबै क्षेत्र, ३ नम्बर वडाको गंगे चोक, ४ नम्बरको कमलपुर चोक र ६ नम्बरको वडा कार्यालय भएको क्षेत्रलाई सम्बेदनशील क्षेत्र मानेर अर्कोे निर्णय नभएसम्मलाई  कर्फ्यू घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी काषिराज दाहालले बताए । 

उत्तरमा मोरङी खोला र दक्षिणमा चिस्याङ खोला क्षेत्र भित्र पनि कर्फ्यू घोषणा गरिएको छ । 

कर्फ्यू बिहान ७ बजेदेखि जारी भएको छ ।

शिक्षकले आफ्नै विद्यार्थी माथि यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय र प्रहरीबीच झडप हुँदा  एक प्रहरी जवानको ज्यान गएको छ ।

प्रहरी जवान उर्मिला श्रेष्ठलाई झडपमा आन्दोलनकारी खुकुरी प्रहर गरेका थिए । 

कोशी अस्पतालमा उपचारका लागि ल्याए पनि आइतवार राति १०ः५० बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका एसपी नविन राईले बताए ।

अस्पतालमा ल्याउने बितिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृतकको शव अहिले कोशी अस्पतालमा राखिएको छ ।

लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रवार यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै दिउँसो १ बजेतिर आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए ।

आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो ।

विद्यालय तनावग्रस्त बनेपछि प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको थप टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो ।

स्थानीय जनप्रतिनिधि पनि विद्यालय प्रवेश गरेको समयमा आक्रोशित भीडले विद्यालयमा तीन वटा मोटरसाइकल आगजनी गरेको थियो ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले  निकाल्ने क्रममा आक्रोशित भीड प्रहरी माथि जाई लागेको थियो  ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार घटनामा २९ प्रहरी र ७ आन्दोलकारी घाइते भएका छन् । 

उनीहरूको विराटनगरका अस्पतालमा उपचार भइरहेको छ । 

घटनामा मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जीसीसहित समेत घाइते भएका थिए । उनको छाती र हातमा चोट लागेको छ । 

प्रदर्शनकारीहरूले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाइकल समेत जलाइ दिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्