![प्रहरीकै मृत्यु हुने गरी भएको हिंसात्मक घटनापछि सन्त्रासमा लेटाङ [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/letang_1_MMqV1wn0Ph.jpg)
मोरङको लेटाङमा भएको झडपमा एक महिला प्रहरीको मृत्यु भएपछि सोमवार बिहानैदेखि कर्फ्यू लगाइएको छ । अनिश्चितकालीन कर्फ्यूपछि लेटाङ अहिले सुनसान छ ।
मानिसहरू घरबाहिर निस्कन पाएका छैनन् । अब के हुने हो भनेर स्थानीयमा सन्त्रास छाएको छ ।
लेटाङ नगरपालिकाका वडा नम्बर ५ का सबै क्षेत्र, ३ नम्बर वडाको गंगे चोक, ४ नम्बरको कमलपुर चोक र ६ नम्बरको वडा कार्यालय भएको क्षेत्रलाई संवेदनशील क्षेत्र मानेर अर्को निर्णय नभएसम्मलाई कर्फ्यू घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए । उत्तरमा मोरङी खोला र दक्षिणमा चिस्याङ खोला क्षेत्र भित्र पनि कर्फ्यू घोषणा गरिएको छ । कर्फ्यू बिहान ७ बजेदेखि जारी छ ।

विद्यार्थीलाई जबर्जस्ती करणी गरेको एक शिक्षकमाथि आरोप लागेपछि आइतवार प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो ।
लेटाङ-५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रवार यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले आइतवार विद्यालय घेरेका थिए ।
आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । विद्यालय तनावग्रस्त बनेपछि प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको थप टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो ।
स्थानीय जनप्रतिनिधि पनि विद्यालय प्रवेश गरेको समयमा आक्रोशित भीडले विद्यालयमा तीन वटा मोटरसाइकल आगजनी गरेको थियो । विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले निकाल्ने क्रममा आक्रोशित भीड प्रहरी माथि जाई लागेको थियो ।



