
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गएको एक साता नबित्दै जसपाले मेयरका उम्मेदवारलाई पार्टी प्रवेश गराएको छ ।
अघिल्लोपटक तत्कालीन राजपाबाट उम्मेदवारी दिएर दोस्रो स्थानमा मत प्राप्त गरेका राजेशमान सिंह जसपा प्रवेश गरेका हुन् ।
सरावगी १९ हजार ३ सय ९३ मत प्राप्त गरेर विजयी हुँदा सिंहले १२ हजार १ सय ६५, लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले ८ हजार ७०१, एमालेका बसरुद्धिन अन्सारीले ८ हजार ६ सय ८८ र माओवादी केन्द्रका रहबर अन्सारीले ८ हजार ३०५ मत प्राप्त गरेका थिए ।
जसपा विभाजनका क्रममा लोसपा रोजेका सिंह केही समयअघि मेयरको उम्मेदवार बन्ने गरी एमालेसँग नजिकिएका थिए ।
एमालेले बहालवाला मेयर सरावगीलाई नै भित्र्याएर मेयरको उम्मेदवार बनाउने भएपछि सिंह जसपा प्रवेश गरेका हुन् ।
सिंह जसपा प्रवेश गरेको तस्वीर राख्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी स्थानीय तह निर्वाचनमा जसपाले क्लिन स्वीप गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
'वीरगञ्जमा जसपा प्रवेशको लहर । स्थापित नेता राजेशमान सिंहलगायत हजारौं जना लोसपा, माओवादी आदि पार्टी परित्याग गरी जसपा प्रवेश । आगामी स्थानीय निर्वाचन जसपाले क्लिन स्विप गर्ने आंकलन र अपेक्षा,' बाबुरामले ट्विट गरेका छन् ।