
बुटवल मिलन चोकमा बहुउद्देश्यीय बुटवल सिटी सेन्टर सञ्चालनमा आएको छ ।
बुटवल सिटी सेन्टर कम्पनीले ६५ करोडको लागतमा सिनेमा हल, स्तरीय होटल र बैंकसहित सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने गरी व्यावसायिक भवन सञ्चालनमा ल्याएको हो ।
बुटवलको सबैभन्दा अग्लो १० तले सिटी सेन्टर भवनमा होटल पाम र क्यूबक्स सिनेमा र अन्य सबै सुविधा छन् । होटल पाम इन्टरनेसनलका अध्यक्ष महेन्द्र नारायण श्रेष्ठले व्यावसायिक भवनमा केही अन्य सुविधा पनि थप गरी १ अर्ब लगानी पुग्ने बताए ।
बुटवलमा १० तले भवन यो नै पहिलो हो । होटलमा ४२ स्वीट रूम, मिनी रूम र लग्जरी गरी ४२ वटा रूम छन् । भवनमा छिट्टै क्यासिनो, ‘स्पा’ र स्वीमिङ पुल पनि सञ्चालनमा ल्याइँदैछ ।
भवनमा ३ वटा लिफ्ट छन् । क्यू बक्स सिनेमा प्रालिका अध्यक्ष धनबहादुर खत्रीले बिहीवारदेखि सिनेमा हल पूर्ण रूपमा सञ्चालनमा आउने बताए । उनले भने, ‘दैनिक ४ शो सञ्चालन गर्दैछौं, मनिङ शोमा ५० प्रतिशत छुटको व्यवस्था छ । टिकटिङ अनलाइन पनि गरेका छौं ।’
व्यापारिक केन्द्र तथा प्रदेशको मुकाम बुटवलमा पछिल्लो समय व्यावसायिक मलहरू सञ्चालनमा आउने क्रम बढ्दै गएको छ । मोफसलमा पनि पछिल्ला वर्षहरूमा व्यावसायिक मलमा गएर किनमेल गर्ने संस्कारको विकास हुँदै गएको छ ।