
बागमती प्रदेशमा किसान तथा व्यावसायीहरुले पालेका पन्छीहरुमा देखिएको बर्डफ्लुका कारण प्रदेशका ६ जिल्लामा ३ करोड बराबर क्षति भएको छ । आज प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले बागमती प्रदेशमा गत माघ महिनाबाट देखापरेको बर्डफ्लुका कारण प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक गरी ६ जिल्ला बढी संक्रमित बताए ।
बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको समेत कँडेलले बताए । उक्त नष्ट गरिएका पक्षी, अण्डा र दानाबाट लगभग ३ करोड बराबर क्षती भएको मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले बताए ।
त्यस्तै बर्डफ्लु देखिएका स्थानमा पन्छी नष्ट गरिएका पन्छीको क्षति भए वापतको रकम समेत दिन मन्त्रालयले आवश्यक मापदण्ड तयार गरिरहेको पाण्डेले बताए ।
मन्त्रालयले त्यसको नियन्त्रण र न्यूनीकरणको लागी भन्दै प्रदेश मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा अन्य कर्मचारीहरुलाई लामो विदामा बस्न र जिल्ला नछाड्न पत्राचार समेत गरेको छ ।
किसान तथा व्यवसायिक रुपमा पन्छी पालेर बसेकाहरुलाई आफुले पालेका पन्छीहरुमा बर्डफ्लु रोग लागेको शंका लागेमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट परिक्षणको व्यवस्था मिलाएको पनि मन्त्रालयले जनाएको छ ।
पन्छीहरुको ढुवानीमा समेत कडाई गर्ने भएको छ भने चेकजाँच गरेका व्यवसायीहरुको रिपोट हेरेर मात्र ढुवानी गर्न दिने मन्त्रालयले बताएको छ ।