०६ साउन २०८३, बुधबार

हाइकु किन आकर्षक बन्दो छ ?

कात्तिक २०, २०७४
हाइकु किन आकर्षक बन्दो छ ?


अष्ट्रेलियाको प्रसङ्ग । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), न्यू साउथ वेल्सका संस्थापक अध्यक्ष भीमसेन सापकोटालाई ‘साहित्यिक बसयात्रा’मा सामेल यात्रीहरूलाई आ(आफ्ना रचना सुनाउन प्रोत्साहित गर्न मन लागेको देखिन्थ्यो । सिड्नी शहरबाट संघीय राजधानी क्यानबेरातर्फ हुँइकिरहेको बसभित्र तारविहीन माइक हातमा लिएका सापकोटाले सुनाएको एउटा तीन–हरफे यस्तो थियो :–

तप्प पसीना
चीसो बियर
रित्तो खल्ती

थोरै शब्दमा अर्थपूर्ण अभिव्यक्ति प्रवाहित गर्न रमाइलो मान्नेहरूका लागि जापानी भाषामा ‘हाइकु’ भनिने कविता आकर्षक माध्यम रहेछ । चैत्र २०७३ को त्यस दिन मलाई त्यस्तो अनुभूति भयो । भनौं, आक्कलझुक्कल हाइकु पढ्ने गरेको भए पनि छोटा कविताको सम्प्रेषण क्षमताबाट सन् २०१७ को मध्य-मार्चसम्म म प्रभावित थिइनँ । सापकोटाका साहित्यिक साथी-दौंतरीबाट थप हाइकु सुन्न पाएपछि म निकै प्रफुल्ल भएँ यद्यपि त्यो अवसरमा हाइकु बाहेकका साहित्यका अन्य विधाका रचना पनि प्रशस्त सुन्न पाइएको थियो ।

२०७४ साल वैशाखमा नेपाल आएपछि एकदिन ‘पायस’ नामको कृति हातमा प-यो । यो परेछ हाइकुहरूको संग्रह । कवि पार्थमणि भट्टराईले यसलाई ‘ छोटा कविता संग्रह’ को रूपमा पाठकसमक्ष पु-याउनु भएको पाइयो । संयोग, यस कृतिसित पनि अनेसासको साइनो रहेछ---भूमिका-लेखक अनेसासकै एक हस्ती परेकोले । होमनाथ सुवेदी अनेसास,संयुक्त राज्य अमेरिकाका संस्थापक अध्यक्ष । एक हिसाबले भीमसेन सापकोटाका समकक्षी !

‘पायस’ को सिरानमै भेटिने हाइकु हो :– 

बिर्स्यो पापीले

आफू जन्मेको ठाउँ

चलन त्यस्तै !

यो कविता पढ्नासाथ सुवेदीको मन्तव्य शुरू भएको छ भूमिकामार्फत । लेख्नुहुन्छ: हाइकुभित्र के छैन---द्वन्द्व,पात्र वा परिवेश ? अर्थात् सबैथोक छन् । लेखकले जे लेखेको छ त्यसभन्दा बढी अर्थ लिनु, नलिनु वा गलत ढङ्गले लिनु त्यो पाठकको ज्ञान सीप र अभिव्यक्तिमा भर पर्दछ । कुरो ठीकै हो, यस्ता पक्ष पाठकको शैक्षिक एवं साँस्कृतिक पृष्ठभूमिसित जोडिन्छन् ।

छोटो भए पनि हाइकु कविताकै परिभाषामा पर्ने भएको हुनाले कविताबारेका विद्वान् विदुषीका विचार सान्दर्भिक हुन्छन् । जस्तो, कवि म.वी.बि.शाहले कतै भनेका छन्: खासमा कविता लेख्ने कवि होइन, कविता बुझ्ने चाहिँ कवि हो । अर्थात् यहाँ बुझ्ने कुराले महत्व राख्दछ । विद्वान् समालोचक यदुनाथ खनालको कथन यहाँछेउ मिल्दोजुल्दो देखिन्छ । प्राध्यापक जयराज आचार्यले लेखेको खनालको जीवनी (पुस्तक) मा कवि, कविता र पाठकबारेको उहाँको मान्यता छर्लङ्ग पाइन्छ । खनालको कथन छ: कविले बढी क्लिष्ट हुनु हुँदैन; पाठकले पनि कविता पढ्दा दैनिक अखवार पढेझैं सर्र पढ्दा खर्र बुझिँदै जाने गुणको आशा गर्नु हुँदैन । कविता पढेर बुझ्न अतिरिक्त मेहनत गर्नैपर्छ ।

कवि भट्टराई

हाइकु पढ्दा प्राप्त हुने अनुभूति वा सन्देश बुझ्न थालेपछि त्यसमा पाठकको रस बस्नु अपरिहार्य छ । भूमिका-लेखक सुवेदी आफैंले यसबारे साविती बयान दिनुभएको छ, यसरी: भूमिका लेख्न बसेको, हस्ताक्षरमा १७ पृष्ठ भैसकेछन् । जे होस्, हाइकु-मोहमा अमेरिका बस्ने सुवेदी र अष्ट्रेलियाका बासिन्दा सापकोटा दुबै हाराहारीमा देखिन्छन् । किन होला परदेशी नेपाली (डायस्पोरा भन्न उचित लाग्दैन) मा हाइकु वा छोटा कवितामा बढी रुचि जागेको ? अडकल गर्दा परदेशमा कामको बोझ ज्यादा हुने हुनाले फुर्सद कम हुने र त्यही कारणले साहित्यको स्वाद लिने समय थोरै भएकोले छोटा-मीठा सामग्रीमा रस बसेको भन्न सकिन्छ । सुवेदीले भूमिकाको शीर्षक मात्र ‘पायस’ राखेकोमा कवि पार्थमणि भट्टराईले सिङ्गो कृतिलाई नै यो नाम दिन उपयुक्त मान्नुभएको देखिन्छ ।

के कस्ता रचना परेका छन् त चर्चित संग्रहभित्र ? आफूलाई एक पाठकको ठाउँमा राखेर हेर्दा म यस पुस्तकमा परेका सबै रचनालाई रसिला र झरिला पाउँछु । किसानले तोरीको झरिलो बाली भित्र्याए सरह । समाजले सन्दर्भ अनुसार सामना गर्ने पेचिला प्रश्नहरू बुझ्न पाठकलाई सजिलो होस् भनेर होला, कविले उखान लोकोक्ति र टुक्काहरूको उपयोग ठाउँसुहाउँदो हिसाबले गर्नुभएको छ । प्रस्तुति नि:सन्देह मौलिक छ यद्यपि भट्टराई विनयी भावमा भन्नुहुन्छ : यस कृतिलाई प्राप्त हुने सबै श्रेय सन्दर्भ-सामग्री औ तिनका स्रोतहरूलाई पुगोस् जसमा, मजस्ता पाठकले देख्छौं, आद्य शङ्कराचार्यदेखि महाकवि देवकोटासम्म पर्दछन् । कविको इमान्दारी प्रशंसनीय छ ।

‘पायस’ को पहिलो खण्डमा ५१९ हाइकु समेटिएका छन् तीमध्ये म यहाँ आफूलाई घत लागेका तीनटा कविता अघिसार्छु :---


*‘पृथ्वी’ सम्झेर

       ‘बहादुर’ कदका

        कृतघ्न पुस्ता

                                                                     *आत्मनिर्णय

                                                                      दिग्भ्रमित विषय

                                                                                 जातीय प्रश्न

*दम्पत्ति सुत्छन्

बलात्कार भो भन्छिन्

   लैङ्गिक हिंसा

 २०२९ सालमा मतानपट्टि कान्छाको उपनामबाट ‘नेताको अपहरण’ उपन्यासबाट साहित्यमा प्रवेश गरेका पार्थमणि भट्टराई मूलत:अन्वेषण अनुसन्धानमा परिचित लेखक/सम्पादक हुनुहुन्छ । धर्म,संस्कृति, भाषा र साहित्यमा उहाँको रुचि र योगदान जनाउन त्रैमासिक ‘सन्दर्भश्री’ प्रकाशन एक्लैले प्रमाणको काम गर्दछ । ‘पायस’ ले त भट्टराईलाई कविको थप चिनारी दिलाएको मात्र हो । चर्चा हाइकुकै छ । पुस्तकको दोस्रो खण्डलाई पाँचहरफेले ओगटेको देखिन्छ । र, यी हरफ पनि छन्दोबध्द कविताकै स्वाद दिने किसिमका छन् । ४८८ थानबाट फेरि तीन थान तानेर हेरौं:---

*शास्त्र वचन   

श्रध्दासाथ तल्लीन

         लक्ष्यविन्दुमा

         परमात्मा मिलन

         मनै हो समाधान                                            * अदूरदर्शी

                                                                            हाम्रा पुराना नेता

                                                                             निष्ठा खोजेर

                                                                             सीमा वारि-पारिका

                                                                              नवनागरिक ‘है’

*जाग्रत देश

  भाग्यमानी नेपाली

   हावा बग्दैछ ;

सत्य बोल्ने निहुँमा

माछो माछो भ्यागुतो

‌---------------------------------------------------------------------------------------

कृति : पायस

रचनाकार: पार्थमणि भट्टराई

प्रकाशिका: अञ्जुदेवी भट्टराई

मूल्य: १५० रूपिञा

ध्रुवहरि अधिकारी




कमेन्ट गर्नुहोस्