चीनका परराष्ट्रमन्त्री वाङ यीले भारत भ्रमण गर्नुको पूर्वसन्ध्यामा पाकिस्तानमा दिएको बयानलाई भारतले खारेज गरेको छ ।
कश्मीर मामिलामा इस्लामिक विश्वको दृष्टिकोणलाई वाङले समर्थन गर्ने भनेपछि भारतको धारणा आएको हो । यस विषयमा बोल्ने अधिकार चीनसँग नरहेको पनि भारतले बताएको छ ।
मंगलवार अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसनका सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरूको परिषद् बैठकको उद्घाटन समारोहमा वाङले टिप्पणी गरेका हुन् । उक्त बैठकमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसहित अनेकौं नेताले जम्मु कश्मीरको परिस्थितिका विषयमा चिन्ता व्यक्त गरेका थिए । वाङले उनीहरूको चिन्तालाई समर्थन गरेका थिए ।
‘उद्घाटन समारोहमा चीनका परराष्ट्रमन्त्री वाङ यीले सम्बोधनका क्रममा भारतका विषयमा उठाएको सन्दर्भलाई हामी अस्वीकार गर्छौं,’ भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बताए ।
‘केन्द्रशासित प्रदेश जम्मु कश्मीरको विषय भारतको आन्तरिक मामिला हो । चीन लगायत अन्य मुलुकले यस विषयमा टिप्पणी गर्ने अधिकार राख्दैनन् । उनीहरूको आन्तरिक विषयमा भारतले सार्वजनिक अभिव्यक्ति नदिने गरेको कुरालाई उनीहरूले विचार गर्नुपर्छ,’ उनले थपे ।