
नेपालको अग्रणी व्यापारिक घराना गोल्यान ग्रुपअन्तर्गतको अपोलो इजर्नी प्रालिले २६० मेगावाटको नामलन खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
अपोलो इजर्नीले चाइना इनर्जी इन्टरनेसनल र चाइना गेजुवा अन्तर्राष्ट्रिय इन्जिनीयरिङ कम्पनीसँगको सहकार्यमा २६० मेगावाटको आयोजना बनाउने तयारी गरेको हो ।
संयुक्त लगानीसम्बन्धी सम्झौतामा तीन संस्थाबीच बिहीवार सम्झौता भएको छ । आयोजना मुगु जिल्लाको मुगुम कार्मारोंग गाउँपालिकामा अवस्थित छ ।

सम्झौतामा गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यान, गोल्यान ग्रुपको इनर्जी डिभिजनका सीईओ प्रवीन अर्याल तथा चाइना इनर्जी इन्टरनेसनलका प्रमुख प्रतिनिधि यङ होङलिनले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
गोल्यान ग्रुपले आफ्नो विरासतलाई निरन्तर अगाडि बढाउँदै नेपालको आर्थिक र सामाजिक आधारलाई अझ दिगो भविष्यका लागि बलियो बनाउने प्रयास गरिरहेको बताएको छ ।
ग्रुपले आगामी दशकमा देशको दिगो विकासका लागि ९०० मेगावाट विद्युत् उत्पादन गर्ने योजनासहित नवीकरणीय ऊर्जामा लगानी गर्ने बताएको छ ।