
नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले स्थानीय चुनावमा गठबन्धन र तालमेल गर्दै गएमा पार्टीको हैसियत भारतीय कांग्रेस (कांग्रेस आई)को जस्तै हुने चेतावनी दिएका छन् ।
चुनावी रणनीतिलगायत समसामयिक विषयमा छलफल गर्न शुक्रवार बसेको कांग्रेस बैठकमा प्रदेश सभापतिहरूले कांग्रेसले तालमेल गर्न नहुने धारणा राखेका हुन् ।
लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले चुनावी तालमेल गर्न नहुने बताएका हुन् ।
‘दुई प्रदेशका सभापतिले तालमेल गर्न नहुने धारणा राख्नुभयो । यसरी तालमेल गर्दै गए कांग्रेसको हालत कांग्रेस आईको जस्तो हुने उहाँहरूको चिन्ता थियो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।
प्रदेश १ का सभापति उद्धव थापा र बागमतीका सभापति इन्द्र बानियाँले भने स्थानीय आवश्यकता अनुसार तालमेल गर्न सकिने बताएका थिए ।
बैठकबाट बाहिरिएका केन्द्रीय सदस्य बलबहादुर केसीले कांग्रेस आफैँमा बलियो रहेकोले तालमेल गर्न नहुने धारणा आएको बताए ।
‘विगतमा हामीले तालमेल गरेर भरतपुरमा माओवादी उम्मेदवारलाई जितायौँ । केन्द्रको चुनावको बेला अर्कै दलसँग तालमेल गरे । सिद्धान्त मिल्ने दलसँग मात्र तालमेल गर्नुपर्छ,’ बैठकमा राखेको कुरा उल्लेख गर्दै केसीले भने ।
सभापति शेरबहादुर देउवाले तीनवटै तहको चुनावमा तालमेल गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
आजको बैठकले चुनावी तालमेल गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने सम्भावना छ ।