
नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले कांग्रेसलाई एक्लाएक्लै चुनाव लड्न चुनौती दिएका छन् ।
शनिवार प्रेस चौतारी नेपाल मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नेता भट्टराईले नेकपा (एस) र माओवादी केन्द्रको साथ छाडेर एक्लाएक्लै चुनावमा भिड्न कांग्रेसलाई चुनौती दिएका हुन् ।
केन्द्रीय तहले स्थानीय तहको चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताउँदै उनले नेपाली राजनीतिमा नेकपा एमाले र कांग्रेस मात्रै प्रमुख दुई शक्ति रहेको उल्लेख गरे ।
‘कांग्रेस-एमालेबीच तालमेल हुँदैन, प्रमुख शक्तिबीच प्रतिस्पर्धा आवश्यक छ,’ उनले भने ।
यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि कांग्रेससँग चुनावी तालमेल नभए एमालेसँग हुन सक्ने भन्दै दिएको अभिव्यक्तिप्रति कटाक्ष गरे ।
‘त्यो अभिव्यक्ति कि कांग्रेसलाई धम्काउन दिएको हुनुपर्छ कि एमालेप्रतिको उनको मोहको कारणले दिएको हुनुपर्छ,’ उनले भने, ‘तर नेकपा एमालेप्रति उनको मोह एमाले देशकै ठूलो पार्टी भएको हैसियतले स्वीकार्य भए पनि चुनावी तालमेल नहुने स्पष्ट पारे ।’
यस्तै उनले वैशाख ९ गते पार्टी स्थापनाको दिवसको अवसर पारेर एकैदिन केन्द्रको र स्थानीय तहमा एकसाथ घोषणापत्र जारी गर्ने जानकारी दिए । ‘हामी वैशाखको पहिलो हप्ताभित्रमा उम्मेदवार टुंग्याउने छौं,’ उनले भने ।
उनले अझै चुनाव सार्ने दाउपेच चलिरहेको समेत आरोप लगाए ।