१२ साउन २०८३, मंगलबार

यूक्रेनको युद्धका कारण यमनमा जारी मानवीय सङ्कटको छायामा

चैत १३, २०७८
यूक्रेनको युद्धका कारण यमनमा जारी मानवीय सङ्कटको छायामा

 ‘विश्वको सबैभन्दा खराब मानवीय सङ्कट’ रहेको यमनको सङ्कट रूस–यूक्रेन युद्धका कारण छाँयामा परेको संयुक्त राष्ट्र संघले जनाएको छ । यमनमा मानवीय सङ्कट थप बिग्रँदै गएको जनाइएको छ ।

यमनका लागि आर्थिक सहायता जुटाउने संयुक्त राष्ट्रसंघको पछिल्ला प्रयासहरू असफल भएका छन् । राष्ट्रसंघ मार्च १६ मा स्थापित कोषमा चार अर्ब जम्मा गर्ने आँकलन गरेको थियो तर उक्त रकमको एक तिहाइभन्दा कम रकम मात्र सङ्कलन भएपछि यसतर्फ विश्व समुदायले ध्यान दिन जरूरी भएको देखिएको छ ।

“यूक्रेनमा जारी युद्धको कारण यमनमा महँगी दोब्बर भएको छ, विशेष गरी पीठोको मूल्य बढेको छ । पहिले प्याकेट पीठोको करिब २१ देखि २५ डलरसम्म रहेकोमा अहिले उक्त मूल्य बढेर ५० डलर पुगेको छ,” मुस्लिम ह्यान्ड्स नामक गैर–सरकारी संस्थाकी परियोजना अधिकारी साराह शावकीलाई उद्धृत गरी बीबीसीले लेखेको छ । उक्त संस्थाले यमनमा पाँच वटा पाउरोटी उद्योग सञ्चालन गर्दै आएको छ ।

शावकीले भन्नुभयो, “हामीले अहिलेसम्म आधारभूत खाद्यान्न उपलब्ध गराउनका लागि अन्य थुप्रै वस्तुहरूमा कटौती गर्नुपरेको छ ।”

शावकीका अनुसार २५ हजार लाभान्वित धेरैको परिवार दैनिक रूपमा संस्थाले दिएको खाना (रोटी) मा निर्भर छन् । संस्थाले विशेष गरी कमजोर व्यक्ति, अनाथ, अपाङ्गता भएका मानिसहरू र महिलाहरूलाई सहयोग गरिरहेको छ । 

यमन मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रको सबैभन्दा गरिब देश हो जसले करिब ९० प्रतिशत खाद्यान्न आयात गर्छ । विश्व बैंकका अनुसार यमनमा ४० प्रतिशत गहुँ यूक्रेन र रूसबाट पठाइन्छ ।

यमनी सहर एडेनबाट स्थानीय मुस्लिम ह्यान्ड्स सहायता संस्थाका कर्मचारीहरूले मूल्य वृद्धिले उनीहरूको मानवीय सहयोग परियोजनाहरूलाई ठप्प पार्न सक्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्