१६ असार २०८३, मंगलबार

ऊर्जामन्त्री भुसालले गरिन् झोलुंगे पुलको उद्घाटन, जोडियो कार्यविनायक र मछिन्द्रबहाल

ऊर्जामन्त्री भुसालले गरिन् झोलुंगे पुलको उद्घाटन, जोडियो कार्यविनायक र मछिन्द्रबहाल

ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुंगे पुलको निर्माण गरिएको छ । 

कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुंगे पुलको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । 

पुलको लम्बाइ १३५ मिटर रहेको छ । सो पुल ७९ लाख ७६ हजार ७८९ लागतमा निर्माण सम्पन्न भएको हो । 

उपत्यकामा रहेका झोलुङ्गे पुल पर्यटकीय आकर्षणका रुपमा रहँदै आएका छन् । कार्यविनायक र मछिन्द्रबहाललाई जोड्ने उक्त पुल निर्माणपछि दोहोरो पर्यटन प्रवर्द्धनमा सघाउन पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सो स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल पुग्ने पर्यटक एक अर्को स्थानमा जान कठिनाइ थियो । पुल बनेसँगै छोटो अवधिमा दुवै स्थानमा पुग्न सकिने भएको छ । पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटकलाई दुवै स्थानको भ्रमणका लागि सहजीकरण हुने स्थानीयको भनाइ छ ।

सो क्षेत्रमा पर्यटकीय गतिविधि बढेसँगै स्थानीयको आयआर्जनमा महत्त्वपूर्ण सघाउ पुग्ने, विदेशी पर्यटकको आवागमनले नेपालको हस्तकला, काष्ठकला तथा मूर्तिकलाको विश्वव्यापीकरणमा सहयोग मिल्ने छ । मन्त्री भुसालको पहलमा स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेटबाट सो पुल निर्माण गरिएको हो ।

पुल उद्घाटन गर्दै मन्त्री भुसालले धार्मिक तथा पर्यटकीय केन्द्रलाई जोड्ने उक्त पुलले नेपालको हस्तकला, काष्ठकला र मूर्तिकलाको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । 

बाह्य र आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि उक्त झोलुंगे पुल कोसेढुङ्गा सावित हुने बताइन् । मन्त्री भुसालले आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गर्दै ‘एक घर, एक पर्यटक’ अभियान चलाउन स्थानीयवासीसँग आग्रह गरिन् । 

वडा नं २२ का वडाध्यक्ष अम्बिरराज शाक्यले धार्मिक तथा संस्कृतिको उच्च सम्भावना बोकेका दुई पर्यटकीय जोड्न पुलको आवश्यकता महसुस गर्दै पुल निर्माण गरिएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्